मोदीसँग प्रचण्डको आग्रह : खोप दिनुभयो धन्यवाद, लोकतन्त्रलाई समर्थन होस्

‘ओलीको कदमलाई लोकतान्त्रिक शक्तिले साथ दिन्छन् भन्ने लाग्दैन’

अनलाइनखबर

काठमाडाैं

भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरेका छन् ।

पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई महिनायताको राजनीतिक घटनाक्रमबारे संश्लेषणात्मक अन्तरवार्ताका क्रममा अध्यक्ष प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले विगतदेखि नै साथ सहयोग दिँदै आएको स्मरण गरे ।

नेपालमा लोकतन्त्रका लागि आवाज उठाउनेहरुलाई राजा महाराजाहरुकै पालादेखि ‘अराष्ट्रिय तत्व’ र ‘भारतीय दलाल’को संज्ञा दिने ‘सामन्ती राष्ट्रवाद’ हावी रहेको बताउँदै प्रचण्डले अहिले त्यो सामन्ती राष्ट्रवादको प्रतिनिधित्व केपी ओलीले गरिरहेको बताए ।

दुई महिनायता संसद विघटनविरुद्ध आन्दोलनका क्रममा प्रचण्डले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएका छन् । लोकतान्त्रिक देशहरुले नेपालमा लोकतन्त्रको पक्षमा समर्थन गर्ने उनले दाबी गरेका छन् ।

गत माघ २८ गते काठमाडौंमा आयोजित आमसभाबाटै प्रचण्डले भनेका थिए, ‘सबै अन्तर्राष्ट्रिय हाम्रा मित्रदेशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठूलो हाम्रो लोकतन्त्र भन्ने छिमेकीबाट यो बेलामा हामीले सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरुबाट सहयोग र सदभाव चाहेका छौं । दायाँ–बायाँ हुने छैन भन्ने भरोसामा छौं हामी ।’

पछिल्लो राजनीतिक घटनाक्रमबारे अनलाइनखबरसँग कुराकानी गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई कोरोना रोकथाममा गरेको सहयोगप्रति धन्यवाद दिँदै नेपालको लोकतन्त्रको पक्षमा उभिइदिन आग्रह गरे । साथै, उनले भारतलाई हेर्ने मामिलामा केपी शर्मा ओली ‘सामन्ती राष्ट्रवाद’को पक्षमा रहेको र आफू ‘प्रगतिशील राष्ट्रवाद’को पक्षमा उभिँदै आएको जिकिर गरे ।

सुरुमा चर्चा गरौं, भारतको पछिल्लो भूमिकाबारे प्रचण्डको बुझाइ –

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अन्तर्राष्ट्रिय शक्तिहरुको पनि साथ रहेको भन्ने सुनिन्छ, संसद विघटन गरेर चुनावमा जाने ओलीको कदमलाई अन्तराष्ट्रिय शक्तिले समर्थन गरेजस्तो लाग्छ ? खासगरी, छिमेकी भारतले नेपालमा संसद पुनस्र्थापना होस् भन्ने चाहेको छ वा मध्यावधि चुनाव ? तपाईंलाई यसमा के लाग्छ ?

केपीजीलाई त्यो लागेको हुन सक्छ । केही गतिविधिहरू हेर्दा त्यो देखियो पनि । अन्तराष्ट्रिय शक्तिले मलाई साथ दिन्छन् भन्ने भ्रममा पर्नुभयो कि भन्ने लाग्छ । दुई/चार महिनायताको आवत–जावत बसउठ हेर्दा कहीँ त्यस्तो हो कि भन्ने त लाग्छ । तर, म के ठान्छु भने हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरू, जो लोकतन्त्रमा विश्वास गर्छन्, उनीहरूले नेपाली जनताको अभिमत, भावना र चाहनालाई सम्मान गर्छन् । कुनै एउटा व्यक्तिको निम्ति जनभावना, लोकतन्त्रका मूल्य मान्यता र संविधानको मर्मविपरीत कोही जान सक्छन् भन्ने लाग्दैन ।

प्रकाशित मिति: : 2021-02-21 10:53:00

प्रतिकृया दिनुहोस्