‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

 पुर्पक्षका लागि भरतपुर कारागारमा रहेका तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलमाथि २० मंसिर २०६८ मा आक्रमण भयो ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा न्यूरो अस्पतालमा त्यसै वर्षको २ पुसमा मृत्यु भयो । पौडेलको हत्या गरेको अभियोगमा सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तान पक्राउ परे ।

जिल्ला अदालतले उनीहरुसहित आठ जनालाई पौडेलको हत्या अभियोगमा जन्मकैद फैसला सुनायो । उनीहरुको जेल सजाय २०८७ सालमा मात्रै सकिने थियो । तर यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कैद मिनाहा पाउने १५ जनामा पौडेल हत्यामा दोषी ठहर भएका केसी, श्रेष्ठ र मोक्तान पनि परेका छन् ।

उनीहरुको कैद मिनाह गरेकोमा पौडेलको परिवारले भने आपत्ति जनाएको छ । यसले आफूहरुलाई थप पीडा दिएको पौडेल पत्नी विनु पौडेल रायमाझीले बताइन् । ‘राज्यले नै अपराधीहरुलाई छाड्ने काम गर्‍यो, यसले फेरि असुरक्षित भएको र देशभित्र न्याय हराएको अनुभूति भयो,’ पौडेलले भनिन् ।

राज्य शक्ति नै लागेर ५० प्रतिशत पनि कैद भुक्तानी नगरेका अपराधीहरुलाई छुटाउने काम योजनावद्ध रुपमा गरिएको उनको आरोप छ । आफू र राष्ट्रपति विद्यादेवी भण्डारीले २५/२६ वर्षको उमेरमै श्रीमान गुमाएको भन्दै उनले भनिन्, ‘उहाँका श्रीमानका हत्याराको पहिचान र खोजी किन गर्नुभएन ? किन कारवाही गर्न सक्नुभएन ? त्यो उहाँको कुरा होला । तर मेरो श्रीमानको हत्यामा संलग्न व्यक्तिलाई उहाँले आममाफी दिनुभयो ।’

उनले अघि भनिन्, ‘यसले मलाई कति पीडा दियो भनिसाध्य छैन । न्याय खोज्न कहाँ जाऊँ ?’

सत्ताको आडमा कानुनको उपहास गर्ने काम भएका भन्दै पौडेल पत्नी विनुले अनलाइनखबरसँग भनिन्, ‘सत्ता सधैँ उहाँहरुको मात्रै हुँदैन होला । त्यतिबेला आज छुटेका अपराधीहरुलाई पुनः जेल भित्र नै पठाउने अठोट मैले लिएको छु ।’

तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलका कान्छा भाइ गोविन्द पौडेलमाथि ३ जेठ २०६६ मा आक्रमण भयो । भरतपुर माविको चौरमा बोलाएर युवाहरुको एक समूहले उनीमाथि धारिलो हतियार प्रहार गरेको थियो । थप उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । गोविन्दको हत्यामा संलग्न भएको आरोपमा केही पक्राउ परे र जेल चलान भए ।

प्रकाशित मिति: : 2021-02-26 15:07:00

प्रतिकृया दिनुहोस्