प्रचण्ड समूहले ओलीविरूद्ध दर्ता गराएको अविश्वास प्रस्ताव अगाडि नबढाउने

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा प्रचण्ड समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावलाई अगाडि नबढाउने भएको छ। सोमबार बिहान बसेको साे समूहको सचिवालय बैठकमा समेत यसबारेमा छलफल भएको थियाे ।

सो समूहकाे बैठकमा नेपाली कांग्रेसलगायत अन्य दलहरुसँग समेत छलफल गरेर नयाँ ढंगले जानुपर्ने देखिएकाले अहिले अविश्वास प्रस्तावको अगाडि नबढाउने निष्कर्ष निकालिएकाे हो ।

प्रतिनिधिसभा विघटन भएकाे दिन पुस ५ गते नै संसद् सचिवालयमा प्रचण्ड समूहले उक्त अविश्वास प्रस्ताव दर्ता गरेकाे थियाे । उक्त प्रस्तावमा भावी प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई प्रस्तुत गरिएको छ । प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्तुत गर्दा कांग्रेस, जनता समाजवादी पार्टीको समर्थन जुटाउन समस्या पर्ने भएकाले साे समूह पछि हटेको हो।

अन्य दलहरूसँग छलफल गरेर अविश्वास प्रस्तावबारे अब कसरी अगाडि बढ्ने भन्ने कुराकानी भइरहेको र त्यसपछि मात्र प्रस्ताव लैजाने साे बैठकमा छलफल भएकाे थियाे । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई विघटन गरेकोमा फागुन ११ मा सर्वोच्चले बदर गरिदिएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना भएकाे छ । प्रतिनिधिसभाको अधिवेशन आगामी फागुन २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरिसकेकी छिन् ।

प्रकाशित मिति: : 2021-03-01 17:00:00

प्रतिकृया दिनुहोस्