ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनको लागि होमेस्टे सञ्चालन्

चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।

पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमुनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो।

माडी नगरपालिका–६ लक्ष्मीनिवासमा माडी भ्यु सामुदायिक घरबास दुई महिनादेखि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले जानकारी दिए।

घरमै पर्यटन व्यवसाय गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालन गरिएको उनले बताए। “गाउँ सुनसान भयो। भएका मानिसहरु पनि शहर जान थाले। गाँउमा बस्नेले पनि झुप्रो बनाएर बस्न थाले। जग्गा बाँझो छ। यसलाई पनि सदुपयोग गरौँ भन्ने लाग्यो”, अधिकारीले भने। 

एघार घरपरिवार मिलेर घरबास सञ्चालन गर्न शुरु गरे पनि अहिलेसम्म छ घरधुरीले मात्र घरबास निर्माण गर्न सफल भएका छन्। अरु घर निर्माण गर्ने क्रममा छन्।

घरबास निर्माणका लागि कल्याणपुर मध्यवर्ती सामुदायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले रु तीन लाख ५० हजार सहयोग गरेका छन्। स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको अधिकारीले बताए।। रासस

प्रकाशित मिति: : 2021-03-02 07:12:00

प्रतिकृया दिनुहोस्