न्युजिल्याण्डले पहिलो पल्ट टि–२० को द्धिपक्षीय शृंखलामा अस्ट्रेलियालाई पराजित गरेको छ। ५ टि–२० को शृंखलाअन्तर्गत आइतबार भ्रमणकारी टोलीलाई ७ विकेटले पराजित गरेपछि न्युजिल्याण्ड ३–२ ले विजयी भएको हो।
वेलिङ्टनमा भएको पाँचौ खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको थियो, जसमा भ्रमणकारी टोलीले ८ विकेटको क्षतिमा १ सय ४२ रन बनायो। प्रतिउत्तरमा न्युजिल्याण्ड १५ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो।
प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिलले ४६ बलमा ७१ रन बनाए। एनले ४ छक्का र ७ चौका प्रहार गरेका थिए। अन्त्यमा ग्लेन फिलिप्सले १६ बलमा ३४ रन बनाउँदै अविजित रहे। उनले एडम जम्पाको बलमा छक्का प्रहार गर्दै किवीलाई जित दिलाए।
कप्तान केन विलियम्सन पहिलो बलमा एलबीडब्ल्युको सिकार भए। अस्ट्रेलियाका लागि म्यारेडिथले २ तथा जे रिचर्ड्सनले १ विकेट लिए।
यस्तै, अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले ४४ र कप्तान एरोन फिन्चले ३६ रन बनाए। मर्कस स्टोइनिसले २६ बलमा २६ रन बनाए। न्युजिल्याण्डका लागि स्पिनर इश सोढीले ३ विकेट, टिम साउदी र ट्रेन्ट बोल्टले २–२ विकेट लिए।
गुप्टिल ‘म्यान अफ दि म्याच’ घोषित भए। सोढीलाई ‘प्लेयर अफ दि सिरिज’ घोषित गरियो। उनले पाँच खेलमा १३ विकेट लिएका थिए।
न्युजिल्याण्ड र अस्ट्रेलियाबीच टि–२० शृंखला २००५ देखि सुरु भएको हो। अस्ट्रेलियाविरूद्ध १४ टि–२० खेलमा न्युजिल्याण्ड ४ मा मात्र विजयी भएको छ। नौ खेल अस्ट्रेलियाले जितेको थियो। एक खेल टाई भएको थियो।