शिलान्यासको द्रुत गति, उपलब्धि शून्य

इन्जिना पन्थी

०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री कृष्‍णप्रसाद भट्टराईले चुनाव जितेमा ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने’ बताएका थिए।

काठमाडौंमा दैनिक ५१ करोड लिटर पानी भित्र्याउने भनिएको यस परियोजना पछि उनी प्रधानमन्त्री भएकै बेला आर्थिक वर्ष ०५५-५६ मा सुरु भएको हो, जुन एउटा चरण सम्पन्‍न हुन दुई दशकभन्दा धेरै समय लाग्यो।

२२ फागुनमा प्रधानमन्त्री केपी ओलीले स्विच थिचेर सुन्दरीजलमा मेलम्ची खानेपानीको उद्घाटन गर्ने क्रममा केही दिनभित्रै काठमाडौवासीको घरमा पानी आउने बताए। अब परीक्षणका लागि प्रतिसेकेन्ड दुई सय ६० लिटर पानी सुरुङमा हालिएको बताइएको छ।

परीक्षण सकिएपछि दैनिक १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्‍ने बताइएको छ।

मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले साउथ एसिया चेकलाई भने, ‘पहिले दुई महिना सुरुङको परीक्षण अवधि भनिएपनि अरु संरचनाहरूको पनि परीक्षणमा समय लाग्‍ने भएकोले अहिले पाँच महिना तोकिएको छ।’

यस आयोजनाको दोस्रो चरणको काम पूरा हुन आव ०८०-८१ नै लाग्‍ने राष्‍ट्रिय योजना आयोगको एक प्रतिवेदनले जनाएको छ।

उक्त अवधि भनेको काम पूरा हुन एक दशकभन्दा बढी समय ढिला हुनु हो। अहिले पनि मेलम्चीको पानी वितरण गर्न सबै ठाउँ पाइपको व्यवस्थापन नभएको र हाल रहेका पाइप जीर्ण भइसकेकाले पानीको चाप धान्‍न नसक्ने बताइएको छ। ‘पाइपले पानीको प्रेसर धान्‍न सक्छ कि सक्दैन भनी जाँच्‍नुपर्छ। पुरानै पाइपबाट पठाइयो भने सडकमा पानी पोखिन जान्छ,’ इन्जिनियर भुवन थापाले साउथ एसिया चेकलाई बताए।

मेलम्चीजस्तै आयोजनाहरूका काम केही महिना मात्र होइन, वर्षौँ ढिला हुने गरेका उदाहरण थुप्रै छन्। तर, उद्घाटन र शिलान्यासको लहर जारी छ।

प्रधानमन्त्री ओलीले २० फागुनमा सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरे। ओलीले १० फागुनमा कञ्‍चनपुरको वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए भने त्यसको ६ दिनपछि उनले मदन भण्डारी मार्गको धरान-बाहुनडाँगी सडकखण्डमा पर्ने पुलको शिलान्यास गरे।

प्रकाशित मिति: : 2021-03-18 16:38:00

प्रतिकृया दिनुहोस्