त्रिदेशीय फुटबल अन्तर्गत नेपाल र किर्गिस्तानको खेल बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल किर्गिस्तानसँग बराबरीमा रोकिएको हो। नेपालले घरेलु मैदानमा सुरुदेखि नै गोल गर्ने अवसर पाउँदापनि गोल गर्न सकेन भने किर्गिस्तान सुरुदेखि नै दबावमा रह्यो।
पहिलो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर पाएपनि गोल गर्न सकेको थिएन। खेलको १४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल कीर्गिस्तानको गोलकिपर बिट भइसकेको अवस्थामा पोष्टमा लागेर फर्कियो।
२९ औं मिनेटमा सन्जोग राईको पासमा अभिषेक रिजालको प्रहारपनि पोष्ट बाहिर गयो। ३३ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाको लाइनबाट प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो।
त्यस्तै दोस्रो हाफको ७९ औं मिनेटमा नेपालले फ्रि किक पाएपनि गोल गर्न सकेन। समय अवधिभर कुनै टिमबाट गोल हुन नसकेपछि छ मिनेट समय थपिएको थियो। त्याे समयसम्म पनि कुनै टिमले गोल गर्न सकेनन्।
खेल बराबरीमा रोकिएसँगै तीनवटै टिम फाइनलमा पुग्ने सम्भावना रहेको छ। दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। फाइनल खेल चैत्र १६ गते हुनेछ ।