थिसारा परेरा एक ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो श्रीलंकाली ब्याट्सम्यान

Photo - verietyinfo
Photo - verietyinfo

अलराण्डर थिसारा परेरा प्रोफेशनल क्रिकेटमा ६ बलमा ६ छक्का बनाउने पहिलो श्रीलंकाली क्रिकेटर बन्न पुगेका छन्।

उनले घरेलु प्रतियोगिताअन्तर्गत मेजर्स कप लिमिटेड एकदिवसीय प्रतियोगितामा आर्मी स्पोट्सबाट खेल्दै ब्लुमफिल्ड क्लबविरूद्ध ६ छक्का प्रहार गरे। उनले अफ स्पिनर दिल्हन कुरेको एक ओभरमा ३६ रन बनाएका थिए।

परेराले १३ बलमा ५२ रन बनाएका थिए। यद्यपि यो खेल खराब प्रकाशका कारण बीचैमा रद्द भयो।

दुवै टिमले २–२ अंक बाँडेका थिए। आर्मी स्पोट्सले पहिले ब्याटिङ गर्दै ४१ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १८ रन बनाइसकेको थियो। तर, पानी पर्न थालेपछि खेल ४१ ओभरमै सिमित भयो।

ब्लुमफिल्डले १७ ओभरमा ६ विकेट गुमाएर ७३ रन बनाउँदा पुनः मौसम खराब भयो। यसका कारण खेल रद्द भयो। परेरा यो सिजन प्रोफेशनल क्रिकेटमा ६ बलमा ६ छक्का लगाउने दोस्रो ब्याट्सम्यान हुन्।

यसअघि वेष्ट इन्डिजका किरोन पोलार्डले श्रीलंकाविरूद्ध टि–२० शृंखलामा अकिला धनन्जयको बलमा ६ छक्का प्रहार गरेका थिए।

प्रोफेशनल क्रिकेटमा हालसम्म ९ ब्याट्सम्यानले ६ छक्का प्रहार गरिसकेका छन्।

यसमा सबैभन्दा पहिले वेष्ट इन्डिजका ग्यारी सोबर्सले ६ छक्का प्रहार गरेका थिए। यसपछि भारतका रवी शास्त्रीले। दुवैले पहिलो श्रेणीको क्रिकेटमै ६ छक्का प्रहार गरेका हुन्।

भारतका युवराज सिंह र दक्षिण अफ्रिकाका हर्शल गिब्सले विश्व कपमा एक ओभरमा ६ छक्का प्रहार गरेका थिए।

गिब्सले २००७ को एकदिवसीय विश्व कपमा नेदरल्याण्ड्सका वेन बुङ्गेको बलमा ६ छक्का प्रहार गरेका थिए। युवराजले २००७ को टि–२० विश्व कपमा इंग्ल्याण्डका तीब्र बलर स्टुअर्ट ब्रोडको बलमा ६ छक्का लगाएका थिए।

यसबाहेक रोस ह्वाइटली, हजरतुल्लाह जजाई र लिओ कार्टरले पनि एक ओभरमा ६ छक्का प्रहार गरिसकेका छन्।

प्रकाशित मिति: : 2021-03-30 14:59:00

प्रतिकृया दिनुहोस्