अञ्जनादेवी आफ्नै श्रीमानको हाकिम बन्न पुगिन्

काठमाडौंप्रेस

काठमाडाै‌ं

सरिशा अछामी

बिहीबार (१२ चैत) बिहान मध्यपुर थिमि नगरपालिका उप–प्रमुख अञ्जनादेवी मधिकर्मी (श्रेष्ठ)ले काठमाडौं प्रेसलाई समय दिएकी थिइन्, आफ्नै कार्यकक्षमा । सुरुमै उनले भनिन्, ‘आज न्यायिक समितिको मिटिङ छ, कुराकानी छिटो गरौँ है ।’

अघिल्लो दिनै फोनमा हामीले उनलाई कुराकानीको विषयबारे बताएका थियौँ– ‘काठमाडौं प्रेसको महिला जनप्रतिनिधि शृंखला, जसमा तपाईंले आफ्नो राजनीतिक यात्रा र व्यक्तिगत संघर्ष हामीलाई बताउनुपर्छ ।’ उनी सहमत थिइन् ।

बहुदलका निम्ति नौ महिना जेल

२०४२ जेठ २३ गते, नेपाली कांग्रेसको सत्याग्रह कार्यक्रम थियो, त्यस कार्यक्रममा सहभागी हुन् अञ्जनादेवी काठमाडौं भोटाहिटी पुगिन् । 

पञ्चायती व्यवस्थाविरुद्धको त्यस आन्दोलनमा उनी पनि धर्नामा थिइन् । ‘विभिन्न जिल्लाका साथीहरू सडकमा छरिएर बसेका थियौँ । प्रहरीले लाठी, अश्रुग्यास प्रहार गर्दै सबैलाई उठाउन थाल्यो । म पनि गिरफ्तारीमा परेँ,’ अञ्जनादेवी भन्छिन्, ‘त्यतिबेला म १८ वर्षकी थिएँ, नौ महिना जेलजीवन बिताउनुपर्‍यो ।’ 

उनका अनुसार, त्यतिबेला अम्बिका बस्नेत, सहाना प्रधान, गीता उप्रेती, कल्याणी रिजाल लगायत अन्य राजनीतिमा सक्रिय महिला गिरफ्तारीमा परेका थिए । पहिलो दिन आफूहरूलाई महेन्द्र पुलिस क्लबमा २४ घन्टा उभ्याएर राखिएको तर केही खान नदिइएको उनी बताउँछिन् । त्यसपछि महिला प्रहरीको संरक्षणमा उनीसँगै २३ महिलालाई सेन्ट्रल जेल पु¥याइयो । त्यहाँ उनीहरूलाई ‘क’ वर्गमा राखिएको थियो, जहाँ खाद्यान्नको गुणस्तर र बस्न केही राम्रो सुविधा दिइन्थ्यो । 

प्रकाशित मिति: : 2021-04-01 12:54:00

प्रतिकृया दिनुहोस्