गणेशमान सिंह स्मृति किक बक्सिङ भोलिदेखि

आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने जानकारी गराए।

पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुने छ। पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुने छ। महिलामा ५०, ५५, ६०, ६५ केजी र खुला तौलसमूहमा खेल हुने छ। पुरुष/महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले जनही ८ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्।

समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख नगदबाट पुरस्कृत गरिने छ। दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाईलगायतका टोलीको सहभागिता रहने बताइएको छ।

तीनदिने प्रतियोगिताका खेलहरु ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा खेलाइने छ।

प्रतियोगिताको तयारी पूरा भएको संयोजक महर्जनले जनाएका छन्। प्रतियोगिताको पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2021-04-07 16:35:00

प्रतिकृया दिनुहोस्