धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेकी छन्।
बिहीबारबाट धरानमा सुरु प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा दमक क्लबकी स्मिता बस्नेतलाई पराजित गर्दै रामकुमारी सेमिफाइनलमा पुगेकी हुन्।
यसैगरी पुरुष ४९ केजी तौल समूहमा झापाका अविक राई र उदयपुरका दीपेन्द्र मगरले सेमिफाइनलमा स्थान बनाए। अविकले क्वार्टरफाइनलमा उदयपुरका रोशन राई र दीपेन्द्रले धरानका पारस तामाङलाई पराजित गरे।
पुरुषकै ५२ केजी तौल समूहमा दमकका मनिकुमार लिम्बू र धरानका सहवीर लिम्बूले अन्तिम चारमा स्थान बनाए। क्वार्टरफाइनल भिडन्तमा मनिकुमारले धरानका पुजन आङदम्वे र सहवीरले विराट बक्सिङ क्लबका शेखर लिम्बूलाई पाखा लगाए।
पुरुषकै ७ केजी तौल समूहमा दमकका दिप्सन राईले विराट बक्सिङ क्लबका सुमन शाह र धरानका सौगात लामाले सुनसरीका शुभम भुजेललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए।
तीन दिने प्रतियोगिताको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले उद्घाटन गरे। नगर प्रमुख राईले रेफ्री जर्ज आशिष लिम्बूलाई ग्लोब्स हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। प्रतियोगितामा महिलातर्फ ११ र पुरुषमा २९ गरी ४० बक्सरले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
सुनसरी बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिका र गणेशमान सिंह स्पोर्ट्स कमिटीको विशेष सहयोगमा आयोजना गरिएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषमा सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ।