दुई पुस्ता खलनायक : ‘पहिले दर्शकले गुन्डा नै ठान्थे, अहिले ह्यान्डसम भिलेन भन्छन्’

काठमाडौंप्रेस

काठमाडाै‌ं

सोनी शाही

एकपटक अभिनेता सुशील पोखरेल बाटोमा हिँडिरहेका थिए । उनको पछाडि हिँडिरहेका दुई युवकले उनीप्रति नराम्रो टिप्पणी गरे, उनले अभिनय गरेको फिल्मको चरित्रलाई लिएर । उनीहरुले पोखरेल स्वयं नै गुन्डा, खराब चरित्र भएको मानिस जसरी बोलिएका थिए ।  

‘हरेकले कुनै पनि फिल्म हेर्दा आफूलाई हिरो ठानेको हुन्छ । त्यो समयमा मैले उनीहरूलाई केही भनेको भए झगडा पथ्र्यो । किनभने उनीहरुले मलाई खराब मान्छे मानेका थिए र त्यही अनुसारको व्यवहार प्रदर्शन गरेका थिए,’ पोखरेल भन्छन्, ‘त्यसैले रिस उठे पनि नसुनेझैँ गरी हिँडे ।’

तीन दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा क्रियाशील अभिनेता पोखरेलको जीवनमा यस्ता घटना धेरै दोहोरिएका छन् । ‘मैले धेरै चलचित्रमा नकारात्मक पात्रको भूमिका निभाएको छु । त्यसैले कतिपय मानिसले मलाई भेट्दा राम्ररी बोल्दैनन्, बाटोमा हिँड्दा मैले सुन्ने गरी के के भन्छन्,’ पोखरेल भन्छन् । 

यद्यपि यो उनको ठूलो सफलता हो । एउटा अभिनेताको अभिनयलाई दर्शकले वास्तविकता ठान्छ र त्यही अनुसारको व्यवहार गर्छ ! एउटा अभिनेताका लागि योभन्दा ठूलो सफलता अर्को के हुन सक्छ ?  

पोखरेल २०५० सालमा चलचित्र ‘ज्वाला’बाट ठूलो पर्दामा डेब्यु गरेका हुन् । २०४२ सालदेखि उनी रंगमञ्चमा सक्रिय थिए । ०४६÷४७ सालतिर भिडियो फिल्ममा काम गर्न थाले । ‘आकाश पनि चुप छ’ टेलिसिरियलमा आफ्नो अभिनय मनपराएर फिल्ममा अफर आउन थालेको उनी बताउँछन् । चलचित्र ज्वालामा उनले खलनायकको भूमिका निभाएका छन् । ‘ज्वाला’मा उनको हाँसो र हेराइलाई लिएर अझै पनि फिल्मी जगतमा प्रशंसा हुने गर्छ।   

‘चलचित्रमा नकारात्मक पात्र नै रोज्छु भन्ने होइन । म आर्टिस्ट बन्न यो क्षेत्रमा आएको हुँ । एउटा आर्टिस्टमा जस्तो पनि पात्रको भूमिका निभाउन सक्ने क्षमता हुनुपर्छ,’ उनी भन्छन्, ‘रंगमञ्च र टेलिसिरियलमा मैले निभाउने भूमिका सकारात्मक नै हुन्थ्यो, तर एउटा फिल्ममा नकारात्मक पात्रको भूमिका निभाएपछि दर्शकले मेरो कामलाई मनपराए र फिल्महरूको लाइन लाग्यो । मेरो होइन, अरुको इन्टरेस्टका कारण नकारात्मक भूमिकामा बढी काम गरेँ।’ 

प्रकाशित मिति: : 2021-04-11 13:18:00

प्रतिकृया दिनुहोस्