आईपीएल-२०२१ अन्तर्गत मंगलबार पूर्व विजेता मुम्बई इन्डियन्सको दोस्रो खेल कोलकाता नाइटराइडर्सविरूद्ध हुँदैछ।
चेन्नईको चेपक रंगशालामा आयोजना हुने यस खेलमा थुप्रै स्टार खेलाडीको प्रदर्शन हेर्न पाइनेछ।
कोलकाताले आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरिसकेको छ। कप्तान ओएन मोर्गनको नेतृत्वमा रहेको टिमको अवस्था राम्रो मानिन्छ।
मुम्बईका लागि कोलकातालाई लगातार चौथो खेलमा हराउने सुनौलो मौका हो। मुम्बईले २०१९ को सिजन एक खेल तथा २०२० को सिजन दुई वटै खेलमा कोलकातालाई पराजित गरेको थियो।
मुम्बई भने पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेङ्गलुरुसँग २ विकेटले पराजित भइसकेको छ।
मुम्बई इन्डियन्सको कोलकाताविरूद्ध विगतमा राम्रो रेकर्ड छ। दुवैबीच २७ खेल भएको छ, जसमा मुम्बई २१ पल्ट जित निकाल्न सफल भएको छ। कोलकाताले ६ पल्ट मात्र खेल जितेको छ। पाँच पल्टको च्याम्पियन मुम्बईको ‘कोर स्ट्रेन्थ’ नै उसको जितको आधार हो।
दुई पल्टको च्याम्पियन कोलकाताको टिम पछिल्लो २ सिजन प्लेअफमा पुग्न असफल भएको थियो। यस वर्ष अक्सनमा केही राम्रो खेलाडी किनेको कोलकाता यसपल्ट केही निश्चिन्त देखिन्छ।
मुम्बईको कप्तानी गरिसकेका हरभजन सिंह यस वर्ष कोलकातामा छन्।