मृतकका नामको १० करोड पर्ने जग्गा किर्ते गरी हडपियो

पार्थ मण्डल

तीन वर्षदेखि योजना बनाएर बिर्तामोडका स्व. टुंङगबहादुर बस्नेतको नामको करोडौं मूल्य पर्ने जग्गा अधिकृत वारेसनामासहित किर्ते कागजात बनाएर बिक्री गरेको आरोपमा झापा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

घटना संलग्न अझैं ६ जना फरार छन्। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वारेसनामा आफ्नो नाममा ल्याउने बाह्रदशी गाउँपालिका–३ हाल बिर्तामोड–२ चैतुवारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशी, नक्कली जग्गाधनी बनेका बिर्तामोड–१० हाल कोटीहोम सुरुङ्गामा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डे, जग्गा खरिद गर्ने बिर्तामोड नगरपालिका–४ बस्ने ३३ वर्षीया रञ्जु राई, उनका श्रीमान् दोभान कन्स्ट्रक्सन कम्पनी बिर्तामोडका सञ्चालक ३४ वर्षीय गोविन्द बान्तवा छन्।

​यस्तै, नापी कार्यालयका पूर्व कर्मचारी तथा नमस्ते होटेल चन्द्रगढीका सञ्चालक भद्रपुर–७ बस्ने ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका–५ का ५० वर्षीय लिला धर राजवंशी, भोजपुर तिवारी भञ्ज्याङ्ग–२, हाल गौरीगञ्ज गाउँपालिका–१ बस्ने ३७ वर्षीय बलराम विश्वकर्मा, नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी शिवसताक्षी नगरपालिका–८ बस्ने ४२ वर्षीय भुपदेव कटुवाल, बिर्तामोडमा ट्याक्टर स्वरुम सञ्चालक तथा जग्गा किनबेच गर्ने अजर्नुधारा नगरपालिका–५ बस्ने ५३ वर्षीय लेखनाथ खनाल र मोरङ उर्लाबारी–४ बस्ने ४८ वर्षीय राजन विश्वकर्मा रहेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

उनीहरूलाई विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरी ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा सङ्गठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-22 17:29:00

प्रतिकृया दिनुहोस्