अन्तर्राष्ट्रियस्तरको गायक थिए प्रेमध्वज

नवीन अर्याल

काठमाडौँ

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ।

छातीमा समस्या देखिएपछि न्यूरो अस्पताल भर्ना भएका प्रधानको हृदयघातको कारण मृत्यु भएको हो। 

नेपाली सांगीतिक क्षेत्रमा उनले दिएकाे याेगदानकाे उच्च कदर गर्दै बिएल नेपाली सेवामा यसअघि प्रकाशित भएका स्टोरी पुनःप्रकाशित गरेका छौ। 

भाग–१ : जब ६ बर्षको उमेरमा बुवा र आमाको पारपाचुके भयो

घुम्तीमा नआऊ है’ र ‘यो नेपाली शिर उचाली’ जस्ता कालजयी गीतका गायक प्रेमध्वज प्रधान।

 जुन बेला जन्मिएका पनि थिएनन्, उनका जिजुबुवा नारायणध्वजको सिन्धुपाल्चोकस्थित चौतारामा ठूलो धाक थियो। 

नहोस् पनि कसरी! नारायणध्वज चौतारामा कहलिएका व्यापारी गनिन्थे। उनको भोट जाने बाटोमा कपडाको ठूलो पसल थियो। घरको कुरै छौडौं– चन्द्रशमशेर राणा प्रधानमन्त्री भएको बेला चौतारामा प्रेमध्वजका जिजुबुवाको बुर्जाले छाएको घर थियो।

एकपल्ट चन्द्रशमशेर सिन्धुपाल्चोक घुम्न निस्किँदा दूरबिनबाट त्यो घर देखेर चकित परेका थिए। राणाकालमा राणाजीको घरबाहेक सर्वसाधारणलाई बुर्जावाला घर बनाउन प्रतिबन्ध लगाइएको थियो।

श्री ३ चन्द्रले तत्कालै आफ्नो सैनिकलाई आदेश दिए– घर मालिकलाई पक्रेर म कहाँ उपस्थित गराउनू।

आफ्नो घरमा सेना आएको देखेर व्यापारी दिमागका नारायणध्वजलाई यो बुझ्न गाह्रो थिएन– अब उनको परिवार श्री ३ चन्द्रको कोपाभाजनको शिकार हुँदैछ।

उनले जुक्ति निकाले। श्री ३ चन्द्रलाई फुक्र्याउने। सेनाले समातेर उनलाई चन्द्र कहाँ उपस्थित गराएपछि नारायणध्वजले प्रष्टीकरण दिए,‘ हजुर, यो विकट गाउँमा कहिलेकाहीँ हजुरहरू राज हुँदा बस्न असुविधा नहोस् भनेर बनाएको।’

उनको भनाईबाट श्री ३ चन्द्र कहाँ गल्नेवाला थिए! उनले आदेश दिए, ‘घरको संरचना तुरुन्त भत्काउनू।’

यो काण्डमा नारायणध्वज आफ्नो र परिवारको ज्यान त जोगाउन सफल भए तर घर जोगाउन सकेनन्। चन्द्रको उर्दी पाएको केही घण्टाभित्र सैनिकहरूले प्रेमध्वजको पुर्खाले बनाएको त्यो बुर्जाघर हेर्दाहेर्दै भत्काईदिए।

वास्तवमा प्रेमध्वजको जन्म हजुरबुवाले चौतारामा बनाएको त्यही बुर्जाघर भत्किएपछि पुनः बनेको एउटा साधारण घरमा भएको थियो।
प्रेमध्वजका जिजुबुवा संगीतका ठूला पारखी थिए। उनमा शास्त्रीय संगीतको चेत थियो।

प्रेमध्वजलाई अहिले पनि आफ्नो जिजुबुवासँग जोडिएको एउटा किस्सा याद छ। भन्छन्, ‘मेरो हजुरबुवा (उत्तरध्वज) को पाटनस्थित एउटा घरमा बिहेको कुरा चलेको थियो। केटीपट्टिबाट खबर आएछ, काठमाडौंमा घर नहुने केटोलाई छोरी नदिने। यो सुनेर रिसाउनु भएका जिजुबुवा नारायणध्वजले असनको बांगेमुढामा घरै किन्नु भएको थियो रे।’

प्रेमध्वजका हजुरबुवा उत्तरध्वज पनि संगीतका पारखी थिए। उनले संगीतको तलतल मेटाउन गोपाल नाम गरेका एक अनाथलाई शास्त्रीय संगीत सिकाएका थिए। जसको आवाज उनी बुढेसकालमा चौतारास्थित आफ्नो घरमा बसेर सुन्ने गर्थे।

प्रेमध्वजले संगीतको पहिलो राग पनि उनै गोपालको मुखबाट सुनेका थिए।

प्रेमध्वजको बुवा रत्नध्वज र आमा प्राणदेवीको कहानी पनि रोचक छ। रत्नध्वज व्यापारको सिलसिलामा काठमाडौंको घरमा बस्थे।

उतिबेला असनमा नाटक देखाउने एउटा मण्डली थियो। उनीहरू हरेक इन्द्रजात्राको दिन दरबार पुगेर नाटक देखाउने गर्थे। एकपल्ट त्यही नाटक मण्डलीमा रत्नध्वजको पनि छनोट भएछ।

नाटककै सिलसिलामा दरबार छिर्दा रत्नध्वजको आँखा जुधेछ, प्राणदेवीसँग। प्राणदेवी श्री ५ त्रिभुवनको आमाको निकै मन परेकी दासी। उनी दरबारमै बसेर शास्त्रीय संगीत तथा नृत्यको तालिम लिने गर्थिन्।

उनी १८ वर्ष नपुग्दै राजा त्रिभुवनकको आमाको निधन भयो र प्राणदेवी दरबार छोड्न बाध्य भइन्।

प्राणदेवीसँग दरबारमा भएको पहिलो भेटमै रत्नध्वजले मुटु दिइसकेका थिए। त्यसैले उनी दरबारबाट बाहिर आएपछि रत्नध्वजले घरका अन्य सदस्यलाई पत्तै नदिइ प्रेम विवाह गरे।

प्राणदेवी नेवार समूदायको भएको हुनाले आफ्नो विवाहको विषयलाई लिएर घरमा त्यति ठूलो आपत्ति नहोला भन्ने लागेको थियो, रत्नध्वजलाई। तर, भयो उल्टो। उनको बिहेलाई लिएर घरमा लफ्डा सुरु भयो। प्राणदेवीको थर तुलाधर थियो।

त्यतिबेला प्रधानले छोएको तुलाधरले नखाने, तुलाधरले छोएको प्रधानलाई नहुने। प्रधान र तुलाधरबीच ठूलो खाडल थियो।

बिहेलगत्तै प्रेमध्वजका बुवा रत्नध्वजले आमालाई चौतारास्थित पुख्र्यौली घर पुर्याएका थिए। तर, हजुरबुवाले आफ्नो स्वीकृतिबेगर भएको विवाहलाई स्विकारेनन्।

लगातारको दबाबपछि प्रेमध्वजका बुवाले १९९४ सालमा जैसीदेवलअगाडि चिकमंगलमा बसोबास गर्ने गंगादेवी मास्केसँग दोस्रो बिहे गरे। घरको माहोल बिग्रँदै गयो।

अवस्था यस्तो बन्यो, २००१ सालमा प्रेमध्वजको बुवा र आमाबीच पारपाचुके भयो।

‘मैले थाहा पाएअनुसार पारपाचुके हुँदा आमालाई ७ सय रुपैयाँ दिइएको छ,’ प्रेमध्वज सम्झन्छन्। बुवा र आमाको पारपाचुके नहुँदासम्म प्रेमध्वज हजुरबुवासँग चौतारामा बस्थे।

‘तर, आमा र बुवाको सम्बन्ध बिच्छेद भएपछि म काठमाडौं आए। त्यतिबेला म ६ वर्षको थिए। आमा मलाई च्यापेर केही दिन माइत बस्नु भयो। यसपछि हामी काठमाडौंमा घर हुँदा हुँदै महाबौद्धको असं बहालमा डेरा गरी बस्न थाल्यौं,’  गायक भन्छन्।

प्रेमध्वज असं बहालको डेरामा बस्दा बुवा रत्नध्वज आमालाई भेट्न आइरहन्थे। रत्नध्वजको दिमाग पनि व्यापारी जस्तै थियो।

‘एक दिन डेरा आएको बेला आमालाई फकाउनु भएछ। पैसा यत्तिकै घरमा राख्यौ भने खर्च हुन्छ। मलाई देऊ। एउटा गाडी किनिदिन्छु। गाडीको भाडाले तिमीहरूको गुजारा राम्रोसँग हुन्छ,’ उनी सम्झन्छन्।

प्रेमध्वजकी आमा निकै सोझी थिइन। परिवारको दबाबले पारपाचुके गर्नुपरे पनि उनी पूर्व श्रीमानलाई अझै विश्वास गर्थिन्। ‘आमाले अंशबन्डाको सबै पैसा बुवालाई फर्काइदिनु भयो। बुवाले घरभाडा तिर्न केही वर्ष पैसा दिनुभयो। त्यसपछि सबै बन्द भयो। आमाले अशंबन्डाबाट पाएको कुनै पैसा फिर्ता पाउनु भएन,’ उनी भन्छन्।

बुवाको त्यो हर्कतले विस्तारै प्रेमध्वजको घरको अवस्था यस्तो बन्यो, छोरा र आफ्नो जीवन रक्षाका लागि आमाले छिमेकीकहाँ गएर काम गर्न थालिन्। उनी पुतली बनाउन पोख्त थिइन। उनी यो काम पनि गर्थिन्। तर यति गर्दा पनि छोरा पाल्न उनलाई धौंधौं पर्यो।

यसपछि आमालाई छिमेकीहरूले सल्लाह दिएछन्। बुवा नभएको छोरा बिग्रिन्छ। छोरालाई बुवाको जिम्मा लगाऊ।

त्यतिबेला रत्नध्वजको न्युरोडमा कपडाको व्यवसाय थियो। उनलाई पनि आफू बाहिर गएको बेला पसलको हेरविचार गर्ने मान्छेको आवश्यकता परेको रहेछ।

प्रेमध्वजकी आमाले आफ्नो पूर्वपति कहाँ प्रस्ताव राखिछन्।

प्रेमध्वजका बुवाले दोस्रो बिहे गरेपनि त्यतिबेलसम्म कान्छी आमाबाट सन्तान भएको थिएन। ‘मलाई काम दिने विषयमा सायद उहाँहरू सँग कुरा भएको थियो होला। म सानैदेखि कम बोल्थे। त्यसैले मलाई काममा राख्ने सहमति बन्यो,’ उनी सम्झन्छन्।

भाग–२ प्रेमध्वजको सानोको नाम थियो गणेशध्वज, हेडसरले जुराए अर्को नाम

बुवा रत्नध्वजको घर बस्दा ९ वर्षको उमेरमा लगनटोलस्थित विश्व निकेतनमा भर्ना भएका थिए, प्रेमध्वज प्रधान।

स्कुलका हेडसर थिए, प्रेमबहादुर श्रेष्ठ। उनी रसिक स्वभावका थिए। २००२ साल तिरको कुरा हुनुपर्छ, उनले एकदिन प्रेमध्वलाई आफ्नो कोठामा बोलाएर भनेछन्, तिम्रो अनुहारअनुसार नाम जमेन। मेरो नामअगाडिको प्रेम तिमीलाई भयो।

त्यति बेलासम्म प्रेमध्वजको नाम थियो,गणेशध्वज। हेडसरको त्यो वाक्यपछि गणेशध्वजको नामको पुनः न्वारन भयो, प्रेमध्वजको रूपमा।

२००४ सालमा प्रेमध्वजसँग अर्को रमाइलो घटना भयो। त्यति बेला उनी कक्षा ३ को परीक्षाको तयारी गरिरहेका थिए। इन्द्रजात्रामा ज्यापू नाचको रिहर्सल हुने हुँदा उनी त्यो अवसर पनि खेल फ्याँक्न चाहँदैनथे। एकदिन भएछ के भने, ज्यापू नाचको एक साताअघि नै हिरोइन बिरामी भइन्।

आयोजकलाई पर्नु फसाद परेछ। यति धेरै परिश्रम खेल जाने भयो भनेर मुख लड्काइरहेको बेला नाटकका डाइरेक्टर बेखाले एक्कासि प्रेमध्वजतर्फ औँला देखाउँदै भनेछन्, ‘यो केटा सधैँ रिहर्सल हेर्न आउँछ। यसलाई सबै डाइलग पनि याद छ। हेर्दा केटीजस्तो पनि देखिन्छ। किन यसलाई नै हिरोइन नबनाउने।’

प्रेमध्वज जाँच छ भनेर पन्छिन खोजेका थिए। तर, नाटक मण्डलीका सबै उनको बुवासँग स्वीकृति माग्न घर पुगे।

‘पहिले बुवा पनि मान्नु भएको थिएन। पछि गाउँलेले परीक्षा बिग्रिएको खण्डमा नजिकैको शान्ति निकेतन स्कुलमा भर्ना गराइदिने आश्वासन दिएपछि राजी हुनुभयो,’गायक हुनुअघि नाट्यकार भएका ८२ बर्षिय प्रेमध्वज सम्झन्छन्।

बुवाको घर बसे पनि प्रेमध्वज तारन्तार आमाको डेरा पुगिरहन्थे। आमाबाटै उनले शास्त्रीय संगीतको गुण सिक्ने मौका पाए।

यसै क्रममा २००८ सालमा उनको भेट भयो, नेपाली संगीतका अर्का धरोहर स्वरसम्राट नारायण गोपालसँग।

नारायण गोपालसँग उनको भेटको प्रसंग पनि कम्ता रोचक छैन। त्यति बेला भेडासिंगमा प्रेमध्वजका साथी लक्ष्मणको धागो र कपासको पसल थियो। उनी दैनिकजसो लक्ष्मणको पसल पुग्थे।
एक दिन यस्तै पसलमा बसिरहेको बेला लक्ष्मणले भनेछन्–तिम्लाई आज म एउटा मित्रसँग भेट गराउँछु। राम्रो गीत गाउँछ।

सानु बाबु, त्यति बेला नारायण गोपाललाई बोलाइने नाम थियो। यही नामबाट नारायण गोपालको परिचय भएको थियो, प्रेमध्वजसँग।

पहिलो भेटमै नारायणले लक्ष्मणको पसलमा रहेको काठको फलेकमा हात ठोक्दै गजबको हिन्दी गीत सुनाए। पछि यिनीहरूको सम्बन्ध यति प्रगाढ भयो, बुवाको डरले आफ्नो घरमा लैजान नसके पनि प्रेमध्वजले आफ्नी आमाको डेरामा नारायणलाई लैजान्थे।

प्रेमध्वजकी आमा महाबौद्धस्थित असं बहालबाट डेरा सरेर जमलमा बस्न थालिसकेकी थिइन्। त्यहाँबाट नारायणको किलागलस्थित घर नजिकै पथ्र्यो। त्यसैले उनी प्रायः प्रेमध्वजको आमाको डेरामा पुगिरहन्थे। पछि अवस्था यस्तो बन्यो, नारायण र प्रेमध्वजकी आमाको दोस्ती खुब जम्यो। कारण थियो, दुवै चुरोटका अम्मली थिए।

भाग–३ः प्रेमध्वजको करकापले नारायणगोपालले एसएलसीको परीक्षा दिए

नेपालका दुई कालजयी गायक प्रेमध्वज प्रधान र नारायणगोपालको दोस्तीले पारिवारिक रुप धारण गरेपछि असनको माहोल एक्कासी तातियो। 

यसै क्रममा अर्का संगीतकार राममान श्रेष्ठ ‘तृषित’ को पनि आगमन भयो, २०१३ सालमा किलागलमा। यस पछि के चाहियो?

असनको पुरै माहोल संगीतमय भयो।

राममान आफैं गीत लेख्थे। संगीत पनि भर्थे। उनको आगमनले असनको टोलटोलमा कन्सर्ट सुरु भयो। उनकै सक्रियतामा ‘नवकला परिवार’ पनि गठन भयो।

असनमा राममानको आगमन हुनुपूर्व नै प्रेमध्वजले रेडियो नेपालबाट स्वरपरीक्षा पास गरिसकेका थिए।

प्रेमध्वजले स्वरपरीक्षा पास गर्दाको घटना पनि रोचक छ। २००९ सालतिर आफ्नो साथी लक्ष्मणको पसलमा बसिरहेको बेला कुरा उप्किएछ– रेडियो नेपालले प्रत्येक आइतबार स्वरपरीक्षा लिन्छ भनेर।

यो सुनेर रोमाञ्चित भएका प्रेमध्वज अर्का साथी प्रेमबहादुर श्रेष्ठसँगै अघिल्लो आइतबार रेडियो नेपाल पुगेका थिए।

त्यहाँ उनले एउटा रोचक दृश्य देखे। रेडियो नेपालमा कमलनाथ अधिकारीकी १३ वर्षीया छोरी हार्मोनियमको तीनवटा सुर थिचेर हिन्दी गीत गाइरहेकी थिइन।

उनी पुरानो घटना सम्झदैँ भन्छन्, ‘त्यहाँ पुग्नुअघि रेडियो नेपालमा नेपाली गीत मात्र गाइन्छ जस्तो लागेको थियो। हिन्दी गीत गाएको देखेर अचम्म लाग्यो। मैले सोधेको पनि थिए–हिन्दी पनि गाउन पाइन्छ भनेर।’

पाइन्छ, भन्ने उत्तर सुनेपछि प्रेमध्वजले आफ्नो स्वरको परीक्षा लिन एक्लो ‘ज्युरी’ बसेका वाद्यशिरोमणि गणेशलाल श्रेष्ठको अगाडि तलद महमुदको ‘जिन्दगी देने वाले सुन’ भन्ने हिन्दी गीत नै गाइदिए।

सुरुमा उनी ढुकचुक थिए। नाम ननिस्किएला कि भनेर। तर, ३ दिनपछि नतिजा हेर्न रेडियो नेपाल पुग्दा आफै चकित परे।

स्वरपरीक्षामा उत्र्तीण भएका नवगायकहरूको नाम भित्तामा टाँसिएको थियो। जसमा उनको नाम ‘क’ श्रेणीको लिस्टमा थियो।

त्यति बेला ‘क’ श्रेणीमा पास हुनेलाई ३–४ वटा गीत गाउन दिने चलन थियो। र, एउटै गीतको पारिश्रमिक १० रुपैयाँ थियो।

‘मैले पास भएको पहिलो खबर आमालाई सुनाए। बुवालाई भन्दै भनिन्,’ उनी भन्छन्।

पहिलो पल्ट स्वरपरीक्षा पास भएपछि प्रेमध्वज यति तनावमा थिए, उनलाई गीत कसरी गाउने भन्ने चिन्ताले सताएको थियो।

‘मेरो समस्याको समाधान पनि आमाले गरिदिनुभयो। उहाँले नै रेडियो नेपालका तत्कालीन जागिरे भैरवबहादुर थापालाई भनिदिनुभयो,’ उनी आफ्नो जीवनमा परेको आमाको प्रभावको बखान गर्छन्।

प्रेमध्वजले रेडियो नेपालमा गाएको पहिलो गीत थियो, ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा।’

यस गीतको शब्द र संगीत भैरवबहादुर थापाले नै कम्पोज गरेका थिए।

उनले गीत गाउँदा रेडियो नेपालमा गीत रेकर्ड गर्ने मेसिन आइसकेको थिएन। रेडियोबाट सिधै एयर हुने कारण गायकहरूले आफ्नो गीत आफै सुन्न पाउँदैन्थे।

प्रेमध्वजले रेडियो नेपालमा पहिलो गीत गाएर घर फर्किने बेला त्यही काम गर्ने एकजना कर्मचारीलाई सोधेका रहेछन्, ‘कस्तो लाग्यो मेरो गीत?’

उनले लगत्तै भैरवबहादुर थापाकै राष्ट्रिय गीत ‘हिमाल चुली हिउँका सेता थुप्राले ढाकेका’, दौलतविक्रम विष्टको शब्द तथा आफ्नै कम्पोजमा ‘यो मनको सानो मुनामा तिम्रो चित्र बनिरहोस्’ र श्यामदास वैष्णवको शब्दमा ‘ये मौन निशाका तारा हो’ जस्ता गीत गाए।

तर, यी कुनै पनि गीत आफूले सुन्न पाएनन्।

२०१४ सालमा आएर भूपि शेरचनको शब्द तथा नातिकाजीको संगीतमा ‘यो नेपाली शिर उचाली’ गीत रेकर्ड हुने भयो। गीत अमेरिकी लाइब्रेरीको सहयोगमा रेकर्ड हुने तय भयो। प्रेमध्वज त्यति बेला निकै दंग परेका थिए, पहिलोपल्ट आफ्नो स्वर सुन्न पाइने भइयो भनेर।

तर, रेकर्डको दिन हलमा अर्को रमाइलो घटना भयो।

पहिलोपल्ट नेपाली गीत रेकर्ड हुने पत्तो पाएका सारा म्युजिसियनले यति ठूलो स्केलमा बाजा बजाए, प्रेमध्वजको स्वर नै दब्बियो।

उनी भन्छन्, ‘मलाई अझै याद छ, अमेरिकी लाइब्रेरीबाट आएका व्यक्तिहरूले सबै म्युजिसियनलाई सम्झाउनु पर्यो, तपाईंहरूले सानो स्वरमा बजाउँदा पनि म्युजिक रेकर्ड हुन्छ।’

प्रेमध्वजको जीवनमा अर्को महत्वपूर्ण घटना भएको थियो।

गीत रेकर्ड हुनुपूर्व उनी आफ्नो बुवालाई जानकारी नदिई घुम्न मुम्बईतर्फ लागेका थिए। त्यो पनि इन्द्रचोकस्थित कृष्ण भण्डारका साहू रत्नबहादुर र सितारवादक नारायण श्रेष्ठसँग। भारतको राजधानी नयाँ दिल्लीमा रुसलगायत थुप्रै देशका प्रतिनिधि हतियारको प्रदर्शनी मेलामा सहभागी हुन आएका थिए।

वास्तवमा कृष्ण भण्डारका साहूलगायत अन्य व्यक्तिहरू हतियारको प्रदर्शनी हेर्न जान लागेका थिए।

तर, कसको बुद्धिले हो– मायानगरी मुम्बई जाने कार्यक्रम पनि तय भयो। मुम्बईको आकर्षणले प्रेमध्वजलाई सानैदेखि खिचेको थियो। त्यसैले उनीपनि यो भ्रमण दलमा सहभागी भए। मुम्बई जानका लागि उनले रेडियो नेपालमा गाएर जम्मा पारेको केही पैसा तथा आमासँग केही पैसा मागेर एक सय रुपैयाँ बनाएका थिए।

मुम्बईस्थित स्यान्डहर्सट रोडमा डेढ महिना बस्ने क्रममा सामान्य मान्छेले पनि अंग्रेजी फर्रर बोलेको देखेर उनलाई लागेछ, ओहो नपढी केही नहुने रहेछ।

काठमाडौंमा उनी २०१० सालमा एसएलसी परीक्षा पूरा गर्न नसकेर त्यत्तिकै बसेका थिए। त्यति बेला उनी सबै विषयमा पास थिए, मात्र संस्कृतमा ८ नम्बर आउँदा फेल हुनु परेको थियो।

मुम्बईबाट आउनेबित्तिकै उनी पद्मोदय स्कुल भर्ना भए। २०१३ सालमा पुनः एसएलसी दिँदा ४ सय ८० पूर्णांकमा उनले ४ सय ३२ अंक ल्याए।

‘मलाई मुम्बई यात्राले पढ्नुपर्छ भन्ने ज्ञान दियो। एसएलसीको तयारीका लागि १० महिना गीत गाइनँ,’ उनी सम्झन्छन्।

पछि प्रेमध्वजकै करकापले नारायणगोपालले पनि २०१६ सालमा एसएलसी पूरा गरेका थिए। जेपी स्कुलमा अध्ययनरत नारायणले पनि बीचैमा पढाइ छोडेका थिए।

‘मैले आफ्नो उदाहरण दिएपछि ऊ मान्यो। राममान र मैले किताबको जोगाड गरिदिएका थियौं। पास पनि भयो,’ उनी भन्छन्।

नारायणगोपाललाई रेडियो नेपालको स्वरपरीक्षा दिन पनि प्रेमध्वजले नै प्रोत्साहन गरेका थिए। नारायणले २०१६ सालमा रेडियो नेपालमा स्वरपरीक्षा दिँदा ‘पन्छीको पंखमा धर्तीको याद दियो’ गीत गाएका थिए। जुन गीत राममानले लेखेका थिए भने संगीत प्रेमध्वजको थियो।

भाग–४:आमालाई सघाउन प्रेमध्वजले १२ रुपैयाँमा ट्युसन पढाए

त्रिचन्द्र कलेजमा आइएस्सी भर्ना भएपछि बिहान कलेज, दिउँसो बुवाको दोकान र साँझ गीत रेकर्ड गर्ने चटारोका बीच २०१५ सालमा प्रेमध्वज प्रधानको स्वास्थ्य यति नराम्ररी बिग्रियो, दुई महिना उनी आमाको डेरामा ओछ्यानमा परे।

तर, एक्लो छोरालाई हेर्न एक दिन पनि बुवा आमाको डेरा आएनन्।

यसपछि उनलाई लाग्यो, उनको जीवनमा आमाबाहेक कोही रहेनछ। उनलाई आमाप्रति यति ठूलो श्रद्धा जाग्यो, पुतली बुनेर र छिमेकीको घरमा काम गर्दै गुजारा चलाइरहेकी आमाका लागि केही गर्ने अठोट गरे।

उनले आमालाई सजिलो होस् भनेर तीन ठाउँ ट्युसन पढाएका थिए।

त्यति बेला एकजनालाई ट्युसन पढाएबापत १२ रुपैयाँ कमाइ हुन्थ्यो, उनको।

‘बुवाको घरमा मेरो एउटा कोठा थियो। तर यो घटनापछि म सुत्नका लागि मात्र घर जान्थेँ। मलाई आमाको पीडा हल्का गर्न जागिरको जरुरी महसुस भयो,’ उनी आफूले जागिरे जीवन सुरु गर्नु परेको कहानी बताउँछन्।

उनले सुरुमा रेडियो नेपालमा मासिक ५० रुपैयाँको जागिरको आग्रह गरेका थिए। तर, त्यति पैसा नदिने भन्दै रेडियो नेपालले उनको प्रस्ताव अस्वीकार गर्यो।

यसपछि उनी कामको खोजीमा अमेरिकन लाइब्रेरीमा पुगे। यहाँ २२ दिन भोलेन्टियर काम गरेपछि अमेरिकी लाइब्रेरीले पनि भन्यो–‘तत्काल जागिर छैन। सित्तैमा काम लगाउने हाम्रो नीति छैन। त्यसैले कुनै पद खुल्यो भने बोलाऊँला।’

तीन महिना यस्तै अन्यौलका बीच प्रेमध्वजको जीवन चल्यो। त्यसपछि उनले अर्का साथी श्यामबहादुुर थापासँग कामका लागि मुम्बई जाने योजना बनाए। श्यामको घरायसी कहानी पनि पे्रमध्वजको जस्तै थियो।

उनको बुवाले पनि अर्की केटी विवाह गरेर परिवारको उपेक्षा गरेका थिए। श्याम हार्मोनियम राम्रो बजाउँथे। त्यसैले यी दुवैको कुरा मिल्यो, १६ पुस २०१६ शुक्रबारको दिन काठमाडौंबाट मुम्बईतर्फ लाग्ने।

दुवै आमासँग दुई–दुई सय रुपैयाँ मागेर वीरगञ्जको नाका हुँदै मुम्बई जाने योजनामुताबिक बुधबार बसको टिकट काट्न साझा बसको काउन्टर पनि पुगेका थिए। तर, घर फर्किएपछि प्रेमध्वजकी आमाले भनिछन्, ‘तँलाई खोज्न अमेरिकी लाइब्रेरीबाट मान्छे आएका थिए। जागिर पक्का भयो कि क्या हो?’

अब प्रेमध्वजलाई पर्यो आपत्। मुम्बई जाऊँ भने यता हुन लागेको जागिर छुट्ने। नजाऊँ भने साथीलाई धोका हुने!

उनले तत्कालै श्यामलाई भेटेर सोधेछन्, ‘काम हुने निश्चित भयो भने के गर्ने?

श्यामले पनि भनेछन्, मलाई पनि विराटनगरबाट जागिरको प्रस्ताव आएको छ, त्यसैले मुम्बई जाने कार्यक्रम तत्काल स्थगित गर्ने हो कि?

नभन्दै भोलिपल्ट अमेरिकी लाइब्रेरी पुग्दा प्रेमध्वजको जागिर पक्का थियो। त्यहाँ उनको मासिक तलब थियो, भारतीय ७५ रुपैयाँ। त्यो उनका लागि छेलोखेलो थियो।

उनले जागिर पाएको खबर बुवाले पछि अरुबाट थाहा पाएछन्। भनेछन्– ‘के सानो जागिर खाएको।’

अमेरिकी लाइब्रेरीको जागिरसँगै प्रेमध्वजको आर्थिक अवस्थामा पनि केही सुधार आयो।

६ महिनामा उनी स्थायी भए। त्यसपछि उनले अफिस आवतजावतका लागि साइकल नै किने। त्यो साइकल पेलेर उनी १० बजे अफिस आइपुग्थे।

त्यसपछि साँझ ५ बजे अफिस बन्द नहुँदासम्म साइकल कुदाउने पालो हुन्थ्यो, नारायणगोपालको।

नारायणगोपाल प्रेमध्वजको त्यही साइकल पेलेर रेडियो नेपाल पुग्थे। यही काम गर्दा उनले पहिलो पल्ट पाइन्ट किनेर लगाएका थिए।
‘२०१३ सालमा राजा महेन्द्रको राज्याभिषेकमा पिटी खेलाउन लग्दा सेतो पाइन्ट लगाएको थिए। त्यसपछि पाइन्ट लगाउने सौभाग्य जागिरपछि मात्र जुर्योे’, उनी सम्झन्छन्।

भाग–५: २०२० सालमा कोलकातामा पहिलो गीत रेकर्ड गराउँदा

२०१८ सालमा प्रेमध्वजको आवाज एक्कासि बिग्रियो। उनको ‘भोकल कोड’ को पोलिपमा बायाँतिर सानो डल्लो देखा पर्यो। 

चिकित्सकहरूले उनलाई उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ अस्पताल जाने सल्लाह दिए।

उनी अफिसमा छुट्टी मागेर लामो समयका लागि दिल्ली लागे। ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ मा उपचार गराउने क्रममा उनको स्वास्थ्यमा लाभ भयो।

उनी यसपछि नेपाल फर्किने क्रममा पटना विमानस्थलमा प्लेन कुरेर बसेका थिए। त्यतिबेला काठमाडौंबाट पटनासम्म प्लेन जाने गर्दथ्यो।

उनी विमानस्थलमा प्लेन कुरेर बसिरहेको बेला अर्को रमाइलो घटना भयो। काठमाडौंबाट आएको प्लेनबाट नारायणगोपाल, शिवशंकर, तारादेवी, ज्ञानबहादुरलगायत १०–१२ जना नेपाली कलाकार निस्किरहेका।

नारायणगोपाललाई उनले सोधेछन्, ‘कहाँ जान लागेको?’

नारायणको उत्तर सुनेपछि उनी दंग परे। उनी सम्झन्छन्, ‘उसले मलाई कोलकातामा नेपाली गीत रेकर्ड गर्न जान लागेको बतायो। उसको कुरा सुनेर मेरो मुटु चस्स घोच्यो।’

प्रेमध्वजको मुटु त्यतिबेला चस्स घोच्नुको पनि कारण छ। उनी २००९ सालदेखि रेडियो नेपालमा गीत गाइरहेका थिए। तर, अझसम्म एउटा गीत रेकर्ड गर्न सकेका थिएनन्। उनीभन्दा धेरै पछि रेडियो नेपालमा आएका नारायणगोपाल गीत रेकर्ड गर्न जाँदै थिए।

‘सांगीतिक क्षेत्रमा करिब १० वर्ष लागिसक्दा पनि मैले आफ्नो एउटै गीत रेकर्ड गर्न सकेको थिइन,’ उनी भन्छन्।

नेपाल फर्किएपछि प्रेमध्वजले आफ्नो पीडा आमालाई सुनाए।

गीत रेकर्ड गर्ने उनको सपना २०२० सालमा गएर पुरा भयो। त्यो पनि अर्का ‘भेट्रान’ गायक धर्मराज थापाका कारण।

धर्मराजले नै पे्रमध्वजलाई गीत रेकर्ड गर्ने सुझाव दिएका थिए। उनले कोलकातामा गीत रेकर्ड गराउने ठाउँ आफूले चिनेको भन्दै प्रेमध्वजलाई सुझाव दिएका थिए।

‘मलाई अहिले पनि याद छ। उहाँले भन्नु भएको थियो–एउटा कपीमा एउटा मात्र डब हुन्छ। एउटा गीत डब गर्न दुई सयवटा कपी किन्नै पर्छ,’ प्रेमध्वज भन्छन्, ‘चार वटा गीत डब गर्न आठ सय रुपैयाँ लाग्ने जानकारी पनि उहाँले दिनुभएको थियो।’

धर्मराजको कुरा सुनेपछि प्रेमध्वज भारतीय आठ सय रुपैयाँ जोगाड गर्दै कोलकाता हानिएका थिए।

उनले कोलकातामा ‘गोरेटो त्यो गाउँको’, ‘माया नमार मायालु’, ‘तिमी आए मेरो दिलमा गीत गाइदिऊँला’ र ‘रुक या नरुक तिम्रो खुसी’ गीत डब गराएका थिए।

यसपछि त उनलाई चस्कै लाग्यो। २०२३ सालमा रेडियो नेपालमा रेकर्ड मेसिन नभित्रिँदासम्म उनी आफ्नो गीत डब गराउन हरेक वर्ष भारत पुग्थे।

भाग–६: भारतीय गायकलाई नेपाली उच्चारण सिकाउँदा

२०२० सालतिर हिन्दी फिल्मका चर्चित संगीत निर्देशक जयदेव काठमाडौं आएका थिए। उनलाई फिल्म निर्देशक बीएस थापाले काठमाडौं लिएर आएका थिए। बीएस त्यति बेला भारतका चर्चित अभिनेता सुनिल दत्तको अजन्ता स्टुडियोमा काम गर्थे। लामो समय हिन्दी फिल्मको निर्देशन गरेका बीएसलाई नेपाली फिल्म बनाउने सोच पलाएको रहेछ।

यसैको सिलसिलामा उनले भारतका चर्चित संगीत निर्देशक जयदेवलाई पनि आफूसँगै काठमाडौं लिएर आएका रहेछन्। उनीहरूको टोलीमा अर्का निर्देशक किशोर तिम्सिना पनि थिए।

जयदेव न्युरोडस्थित पारस होटलमा बसेका थिए। पारस होटल उति बेला हाल न्युरोडको ‘पिनट्स’ भएको ठाउँमा थियो।

कसले हो? प्रेमध्वज प्रधानलाई भनेछ, ‘नेपालमा पहिलो व्यवसायिक नेपाली फिल्म बन्न लागेको छ। कहाँ यसरी बसिरहेको?’

प्रेमध्वज अमेरिकी लाइब्रेरीमै कार्यरत थिए। उनी आफ्नो साइकल निकालेर पारस होटल पुगेछन्। त्यही पुगेपछि उनलाई थाहा भयो, नेपाली फिल्म माइतीघर बन्न लागेको रहेछ।

‘जयदेव आएको थाहा पाएपछि म हानिदैँ उनलाई भेट्न होटल पुगेको थिए,’ प्रेमध्वज सम्झन्छन्–‘होटलमा उनलाई भेट्नेको भीड थियो। जयदेवसँगै अर्की गायिका मीनु पुरुषोत्तम पनि नेपाल आएकी थिइन।’

प्रेमध्वजले पारस होटलमै जयदेवलाई हिन्दी फिल्म ‘दोस्ती’ को ४ वटा हिट गीत सुनाए।

जयदेवले तत्काल कुनै प्रतिक्रिया दिएनन्। तर, फिल्मका योजनाकार किशोर तिम्सिनासँग तीन दिनपछि भेट हुँदा उनले भने, ‘तपाईं पनि छनोट हुनुभएको छ हैँ।’

केही दिनपछि नै प्रेमध्वज अन्य कलाकार सीपी लोहनी र दीपकसँगै मुम्बई उडे। अरुणिमा लामा दार्जीलिङमा थिइन। उनी त्यहीबाट मुम्बई लागिन्।

प्रेमध्वजले माइतीघरमा काम गर्न अफिसबाट एक महिनाको छुट्टी लिएका थिए। काठमाडौंबाट डेकोटाको सानो विमान चढेर मुम्बई पुग्न डेढ घण्टा लागेको थियो।

अमेरिकी लाइब्रेरीको जागिरे हुँदा प्रेमध्वजलाई समय समायोजना गर्न निकै कठिन परेको थियो। कतिबेला रियाज गर्ने, कतिबेला पढ्न जाने? उनी समय समायोजनका लागि सरस्वती कलेजमा रात्रिकालीन शिक्षाका लागि आइएमा भर्ना भएका थिए।

सरस्वती कलेजमै अध्ययनरत रहँदा एकपल्ट कलेजले सबै विधार्थीलाई ‘भारत भ्रमण’ लगेको थियो। भारतको राजधानी नयाँ दिल्लीमा १२ दिन बस्ने क्रममा प्रेमध्वजले त्यहाँ आयोजना भइरहेको विद्यार्थीहरूको कन्फ्रेन्समा ‘माया नमार’ बोलको नेपाली गीत गाएर माहोल तताइदिएका थिए।

त्यो कन्फ्रेन्सको प्रमुख अतिथि थिए, भारतीय प्रधानमन्त्री जवहारलाल नेहरू। उनले चाँखपूर्वक प्रेमध्वजको गीत सुनेका थिए।

कन्फ्रेन्समा गीत गाएर बाहिर निस्किने क्रममा प्रेमध्वज हिट भइसकेका थिए। स्टेजबाट बाहिर उनको ‘अटोग्राफ’ लिनेको भीड थियो।

‘मलाई त्यति बेलासम्म अटोग्राफ भनेको के हो? थाहा थिएन। नेपालमा कलाकारहरू सँग अटोग्राफ लिने चलन थिएन,’ उनले भने।

माइतीघरका लागि मुम्बई जाँदा उनको भेट भारतीय संगीतका हस्ती लता मंगेस्कर, आशा भोषले र उषा उतुपसँग भएको थियो।

‘नमान लाज यस्तरी’ सुरुमा आशाले गाउने पक्का पक्की जस्तै थियो। तर उनी अन्य गीतमा यति व्यस्त भइन, उनले टाइम नै निकाल्न सकिनन्।
पछि त्यो गीत उषाले पूरा गरिन्।

भारतीय गायकलाई ‘छ’ उच्चारण गर्न निकै गाह्रो पथ्र्यो।

‘म प्यार बेचिदिन्छु’ लाई ‘म प्यार बेचिदिन्छे’ गाउने।

प्रेमध्वज भन्छन्, ‘हामीले उनीहरूलाई नेपाली उच्चारण सिकायौं। माइतीघरको गीत निकै हिट भयो।’

वास्तवमै माइतीघरको गीत यति हिट भयो– प्रेमध्वज प्रधानको ख्याती नेपाली माझ मात्र होइन, भारतमा पनि चुलियो।

भाग–७: जब प्रेमध्वजले ‘फिल्म फेयर अवार्ड’ मा किशोर कुमारको गीत गाए

अमेरिकी लाइब्रेरीमै १० वर्ष काम गर्ने क्रममा २०२६ सालमा प्रेमध्वज प्रधानलाई लागेछ, काम धेरै गरियो, अब किन मुम्बई गएर संगीतको थप ट्रेनिङ नलिने?

यसपछि उनी तेस्रोपल्ट मुम्बई हानिए। केही समय भारतका चर्चित संगीतकार जयदेवको घरमा बस्ने क्रममा उनको भेट भयो, ज्ञानप्रसाद श्रेष्ठसँग।

ज्ञानप्रसाद पहिलेदेखि नै प्रेमध्वजको गीतको ‘फ्यान’ थिए। त्यसैले उनले आफ्नै घरमा प्रेमध्वजलाई ‘पेइङ गेस्ट’ का रूपमा राखे। यहीँ बस्दा एक दिन उनी सुगम संगीत अध्ययनका लागि भारतीय विद्या भवन पुगेका थिए।

त्यहाँका एक संगीत शिक्षकले उनलाई निम्तो दिएछन्, आफ्नो घरमा बजाउन।

प्रेमध्वजले नेपालबाट जाँदै गितार बोकेका थिए।

भारतीय शिक्षकको घरमा प्रेमध्वजले ‘प्यारीदेखि जूनकीरी’ र ‘घुम्तीमा नआऊ है’ जस्ता आफ्ना कालजयी गीत गाएपछि ती शिक्षक त एकछिन अवाक् भएछन्। उनले प्रेमध्वजको संगीतको तारिफ गर्दै भने–‘यहाँ एमए पास गरेकाले यस्तो गाउन सक्दैनन्। तिमीलाई त क्लासिकल, राग सबैको ज्ञान छ। भो पर्दैन तिमीले सिक्न।’

यसपछि प्रेमध्वजको दैनिकी नै बन्यो, बिहान जयदेवको घर जाने र दिउँसो नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा गाउने।

जयदेवको घरमा त्यति बेला देव आनन्दको ‘ग्यामलर’ फिल्मकी नायिका जाहिदाकी दिदी पनि संगीत सिक्न आउँथिन्।

यहीँ प्रेमध्वजले केही नेपाली गीत जाहिदाकी दिदीलाई सिकाइदिएका थिए। यी दुई मिलेर प्रजातन्त्र दिवसको दिन नेपाली समाजले मुम्बईमा आयोजना गरेको कार्यक्रममा ‘लाग्दछ मन तिमी कहाँ’ पनि गाएका थिए।

जाहिदाकी दिदी पनि प्रेमध्वजको स्वरको यति ठूलो फ्यान भइछन्, एक दिन उनले आफ्नो बहिनीमार्फत प्रेमध्वजलाई देव आनन्दसँगै भेटाइदिइन्।

‘मलाई पाँच महिना बस, तिमीले फिल्ममा गाउने मौका पाउँछौ भनेका थिए। तर, यता आमा बिरामी भएको खबर आयो। मैले १५ दिनमा हुन्छ भने बस्छु भनेँ,’ प्रेमध्वज भारतीय फिल्मका चर्चित नायक देव आनन्दसँग भेटेको प्रसंग कोट्याउँछन्।

ज्ञानप्रसादकै सहयोगमा प्रेमध्वजले भारतीय चलचित्र उद्योगको चर्चित ‘फिल्म फेयर अवार्ड’ मा पनि गीत गाउने मौका पाएका थिए।

उनको विषयमा त्यति बेला भारतीय अखबार ‘दी टाइम्स अफ इन्डिया’ मा विज्ञापन छापिएको थियो–‘भ्वाइस अफ नेपाल’ भनेर।

पाँच हजारको भीड भएको त्यो स्टेजमा त्यति बेलाकी चर्चित उद्घोषिका सोनिया सानीले ‘अब आपके सामने प्रेमसाहेब एक नेपाली, एक हिन्दी गीत पेश कर रहे है’ भन्दा प्रेमध्वजको मुटु ढुक्क फुलेको थियो।

त्यो स्टेजमा उनले आफूले नेपालबाट लगेको एउटा गितारको भरमा किशोर कुमारको ‘तुम विन जाऊ कहाँ’ गीत गाउँदा स्टेजमा बसेका सबै अवाक् भएका थिए। गीत सकिँदा, वान्समोरको ताली बजेको थियो।

अन्त्यमा उनले आफ्नो सदाबहार गीत ‘घुम्तीमा नआऊ है’ गाए। र, आठ महिनामै मुम्बईबाट फर्किए।

विगत ७ दशकदेखि नेपाली संगीतमा सक्रिय प्रेमध्वजले हालसम्म ६ सय ५० भन्दा बढी गीत गाइसकेका छन्।

प्रकाशित मिति: : 2021-05-06 21:34:00

प्रतिकृया दिनुहोस्