विराटनगरमा आइसियू बेड भरिए, बिरामीको नाम टिप्दै फर्काउँदै

अनलाइनखबर

काठमाडौँ

हरि अधिकारी

कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् ।

आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड पाउन पालो कुर्नपर्ने बाध्यता छ ।

बिरामीको नाम टिप्दै, फर्काउँदै

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार  बुधबारयता अस्पतालको आइसियू र एचडियू बेड प्याक छन् । आइसियू बेड प्याक भएपछि गम्भिर प्रकृतिका विरामीलाई भर्ना नलिइएको उनले बताए ।

‘तीन दिन भयो आइसियू प्याक भएको, आइसियू खोज्नेलाई खाली भए बोलाउँछौं भन्दै नाम टिपेर राख्छौं,’ उनले भने, ‘आइसियू र एचडियूमा भरिएपछि जनरल बेडका लागि भर्ना गरिरहेका छौं ।’ उनका अनुसार शुक्रबार कोसी कोभिडमा ६८ जना संक्रमित उपचाररत छन् र यो संख्या बढ्दो क्रममा छ ।

विराट मेडिकल कलेजको आइसियू पनि प्याक छ । अस्पतालका फोकल पर्सन सुनिल देवका अनुसार नयाँ संक्रमितलाई आइसियुमा राख्न उपचाररत विरामीको डिस्चार्ज हुनुपर्छ वा मृत्यु हुनुपर्छ । बेड खोज्नलाई पालो कुराएर राख्नुपर्ने अवस्था रहेको उनले बताए । विराटले ३२ वटा आइसियू र १२ वटा भेण्टिलेटरसहित २०० बेडको छुट्टै कोरोना अस्पताल सञ्चालन गरिरहेको छ ।

नोबेल मेडिकल कलेजको आइसियूसहितका वार्ड भरिएका छन् । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गत शनिबारयता विरामीको चाप बढेको छ । नोबेलले गत शुक्रबारयता संक्रमितको उपचार निःशुल्क गरिरहेको छ ।

प्रकाशित मिति: : 2021-05-08 11:14:00

प्रतिकृया दिनुहोस्