उपचार नपाउँदा तेस्रो दिनमै संक्रमितको मृत्यु तेब्बर

नेपालमा कोरोना भाइरसको महामारी कति भयावह अवस्थामा पुगेको छ भन्ने चित्र पछिल्लो तीन दिनको मृत्युको संख्याले देखाउँछ । आइतबार ८८, सोमबार १३९ जनाको मृत्यु हुँदा मंगलबार मृतक संख्या २२५ पुग्यो । मृतक संख्या तेस्रो दिनमै झण्डै  तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने कतिपय अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरेका छन् ।

त्यसैले कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्‍हरु बताउँछन् । तर महामारी यो अवस्थामा त्यत्तिकै पुगेको भने होइन ।

१० दिनअघि कोरोना संक्रमणबाट २८ जनाको मृत्यु हुँदैमा संक्रमितले अस्पतालमा बेड पाउन छाडेका थिए । ७ दिनअघि ५३ जना संक्रमितको मृत्यु हुँदा अस्पतालहरुमा अक्सिजनको अभाव चर्किसकेको थियो । अस्पतालमा बेड र अक्सिजन अभावको परिणामस्वरुप मृतक संख्या तीब्र रुपमा बढेको हो ।

कोरोना संक्रमितको उपचार गर्दै आएका अस्पतालका अधिकारीहरुको भनाइले पनि यो कुराको पुष्टि गर्छ । पाटन अस्पतालका कोभिड फोकल पर्सन डा. विमल पाण्डे पछिल्लो समय आईसीयूमा राख्नुपर्ने बिरामीले अस्पतालमा बेड नै नपाउने र भर्ना भएका बिरामीले आवश्यक मात्रामा अक्सिजन नपाउँदा मृत्यु संख्या बढेको बताउँछन् । ‘मृत्यु बढ्नुको मुख्य कारण अक्सिजन र बेडको अभाव नै हो, संक्रमितको अवस्था हेर्दा अबको केही साता मृत्युको संख्या झन् बढ्न सक्छ’ उनी भन्छन् ।

उपचारमा संलग्न चिकित्सकहरु संक्रमितले समयमा उपचार पाउन नसकेको बताउँछन् । कतिपय बिरामी आफ्नो समस्या पहिचान गर्न नसक्दा ढिलो अस्पताल पुगिरहेका छन् भने कतिपय बिरामीले भने अस्पताल चहार्दाचहार्दै समयमा उपचार पाउन सकेका छैनन् ।

टेकु अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोला अस्पताल आइपुग्ने अधिकांश संक्रमितको फोक्सो बिग्रिसकेको हुने बताउँछन् । उनका अनुसार  सिकिस्त अवस्थामा अस्पताल आएकालाई उपचारले बचाउन कठिन हुन्छ । ‘सुरुवातमै संक्रमितले सही सल्लाह लिएर औषधि नखाएका कारण अस्पताल आइपुग्दा धेरै ढिलो भइसक्छ, त्यसमाथि अस्पतालमा बेड खोज्दाखोज्दै समस्या जटिल भइसक्छ’ डा. बास्तोला भन्छन् ।

प्रकाशित मिति: : 2021-05-12 06:25:00

प्रतिकृया दिनुहोस्