प्रधानमन्त्रीमा शशांकको नाम एक्कासी प्रस्ताव हुँदा पछि हटे देउवा

नवीन अर्याल

काठमाडौं

नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेसबाट महामन्त्री शशाङ्क कोइरालाको नाम एक्कासी अगाडि आएपछि सभापति शेरबहादुर देउवा पछि हटेका छन्। 

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत २७ गते संसद्बाट विश्वासको मत लिन सकेका थिएनन्। यसपछि नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास अगाडि बढाएका थिए। 

तर,शेरबहादुरलाई प्रधानमन्त्री बनाउने सम्बन्धमा जसपामा सहमति जुटेन। जसपामा पहिलेदेखि नै उपेन्द्र यादव तथा महन्थ ठाकुर समूहमा विभाजित छ। बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा महन्थको समूहले ओलीको पक्षमा मतदान गरेका थिए भने उपेन्द्रले विपक्षमा मत हालेका थिए। 

महन्थकै कारण नेकपा एमालेका २८ सासंद् अनुपस्थित भए पनि तत्काल नयाँ सरकार निर्माण हुने सम्भावना टरेको थियो। 

त्यतिबेला २ सय ३२ संसद उपस्थित हुँदा ओलीको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत मात्र परेको थियो। १५ जना तटस्थ बसेका थिए। नयाँ सरकार निर्माणका लागि १ सय ३८ संसदको मत आवश्यक छ। 

ओलीको सरकार 'काम चलाउ' भएयता तीन दिनदेखि नयाँ सरकार बनाउने कसरतमा राजनीतिक पार्टीहरू लागे पनि त्यसले ठोस आकार लिन नसकेको उच्च श्रोतले बिएल नेपाली सेवालाई बतायो। 

‘विदेशबाट आएका केही प्रतिनिधिले सभापति शेरबहादुर देउवाको नाममा सहमति जनाएका छैनन्। यसले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अप्ठेरोमा पारेको छ,’ उच्च श्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो–‘कांग्रेसबाटै सरकार बनाउने हो भने शेरबहादुरको सट्टा कांग्रेस महामन्त्री शशांक कोइरालाको नाम प्रस्ताव भएको थियो। तर, शेरबहादुरजीले मान्नु भएन। यसपछि महन्थको नाम अगाडि सारियो।’

जसपा नेता महन्थ ठाकुरको नयाँ सरकार बनाउने सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको लगातारको भेटघाटले पनि यसैलाई पुष्टि गरेको  श्रोत बताउँछ तर नयाँ सरकार निर्माणको खेलरोक्न नेकपा एमालेले असन्तुष्ट माधव नेपाल गुटका चार नेताको कार्यवाही फुकुवा गरिसकेको छ। यस्तो अवस्थामा नयाँ सरकार निर्माणको खेल रोचक बनेको श्रोतको भनाइ छ।

प्रकाशित मिति: : 2021-05-13 15:09:00

प्रतिकृया दिनुहोस्