नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रितलाई आवश्यक औषधि सहयोग गरेको छ।
कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम पन्तले जानकारी दिए।
उनले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताए।
संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५ ‘लक्ष्मी’ र ‘नारायण’ छन्। आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले पोखरा–२५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम)को निर्माण भइरहेको र अहिले कोभिड –१९ का कारण रोकिएको जानकारी दिए। सो धाम निर्माणका लागि प्रदेश सरकारको विशेष सहयोग छ।
रु एक अर्ब तीन करोडका लागतमा निर्माण हुन थालेको स्मारकको गुरुयोजनानुसार पाँच सय क्षमताको सडक मानवता जागरण तालीम केन्द्र, बालोद्यान, यात्रु सेवा सत्तललगायत आवश्यक संरचना हुनेछन्। विसं २०८० सम्ममा सडकमानवमुक्त बनाइने अभियानानुसार योजनाबद्ध कार्यमा लागेको उनको भनाइ थियो। रासस