राप्तीबासीकाे आपत–विपतकाे सारथी, राप्ती समाज यू.के.

Breaknlinks
Breaknlinks

कुनै मानिस, समुह वा संस्थाले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो। अरूलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ भन्ने भाब सबैमा छ। जति अरूलाई सेवा गर्यो त्यति नै धर्म मिल्ने कुरा साधारणदेखि विद्वानहरूले पनि सहशुस गर्छन् र ब्यक्त पनि गर्दछन्।

मानिस र समय जति आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन। हराउनुपनि हुँदैन। मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन्।

युवा क्लब हुन् वा कुनैपनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरूले सामाजिक काममा आ-आफ्ना तर्फबाट हात बढाइरहेका छन्। यसले उनीहरूको सामाजिक कार्यमा सक्रियतालाई संकेत गरिरहेको छ। जतिसुकै विज्ञान वा प्रविधिको विकास भएपनि मानिसमा मानवियताको आवश्यकता छ।

समाज सेवा मानवतासँग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ। समाजसेवा र समाजसेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन्। समाज सेवाको भित्र स्वार्थ लुकेको हुनुहुँदैन र समाजसेवीको हृदय नाङ्ग्लो जत्रो हुनुपर्छ। तसर्थ समाजसेवा अन्य व्यवसायभन्दा भिन्न र आत्मसन्तोषी पनि हुन्छ।

समाजसेवा र सामाजिक काम भन्दा र सुन्दा जति सजिलाे र प्याराे लाग्छ त्यसलाई ब्यबहारमा उतार्न भने उति नै कठिनाई छ। मान्छे जति सुकै धनाढ्य भएपनि आफुले कमाएकाे केही प्रतिशत समाजसेवामा पनि खर्च गराैँ भन्ने भाब एकदम थाेरै मानिसमा हुन्छ तर काेहि आर्थिक रूपमा बिपन्न भएपनि उसलाई भित्रैदेखि सामाजिक भावकाे चिन्ता हुन्छ। र, उ आफ्नाे गाँस काटेर भएपनि सामाजिक काममा तल्लीन हुन्छ।

जब मानिसमा समाजसेवाकाे भाब आत्मैदेखि आउछ तब उ आफ्नाे गाउँमा हाेस् या शहरमा आफ्नाे देशमा हाेस् या बिदेशमा। उसलाई समाजसेवा मार्फत आफ्नै देश र गाउँघरकाे पेरिफेरिमा घुमिरहन ईच्छा जाग्छ र कुनै समुदाय वा ब्यक्तिलाई आपत–विपत पर्दा उसले काध थापेर सारथी बन्न जागरूकता देखाउछ बास्तबमा त्याे नै सामाजिक सेवन हाे। यसकाे एउटा उदाहरण यू.के.मा रहेकाे राप्ती समाजले बिगत केही बर्षदेखि देखाईरहेकाे सामाजिक सेवा भाब हाे।

विभिन्न पेशाकाे शिलशिलामा नेपाल र बिशेषगरी साबिक राप्ती अञ्चलबाट यू.के.मा बस्दै आएका नेपालीहरूले आफुहरू संगठित भएर यू.के.मा राप्तिबासीलाई आपत–विपत पर्दा हाेस् या नेपालका साबिकका राप्तिबासीलाई अप्ठ्यारो पर्दा हाेस्। एकअर्कालाई सहयाेग गर्ने उद्देश्य सहित २००७ मा टीका सिंह ठकुरीकाे अध्यक्षता राप्ती समाज यू.के.काे स्थापना भयाे। समाजकाे दाेस्राे अध्यक्ष गंगा मल्ल हुँदै अहिले राेल्पा थबाङ निवासी बेलायतमा बस्दै आएका हिक्मतसिङ राेका अध्यक्ष छन्।

कुनै नेपाली चाडपर्ब आउदा बेलायतमै भएपनि आफ्नाे कला, संस्कृति बचाईराख्न तथा बेलायतमै जन्मिएका आफ्ना दाेस्राे पुस्तालाई पनि नेपाली भाषा, संस्कृति र संस्कारकाे महत्त्वकाे बारेमा बुझाउन एकठाँउमा भेला भएर कार्यक्रम र पर्व मनाउने गरिएकाे राप्ती समाज यू.के.का अध्यक्ष हिक्मतसिंङ राेका बताउँछन्।

सुरू–सुरूमा आफ्ना सदस्यहरूलाई मात्रै लक्षित खाेलिएकाे राप्ती समाज स्थापनापछि भने साबिक राप्तीका विभिन्न जिल्लाहरूमा कुनै समस्या पर्याे भने त्यसकाे सारथीकाे रूपमा उभिन थाल्याे। उपचार नपाएर मर्ने अबस्थामा पुगेकाे ब्यक्ति बचाउन हाेस् वा राप्तिका भुगाेलमा आईपर्ने प्राकृतिक आपतविपतमा हाेस्, समाजले आर्थिक सहयाेग गरेर पिडितहरूकाे घाउमा महल्म लगाउन थालेपछि आजभाेलि कुनै कसैलाई आपतविपत पर्दा साबिक राप्ती बासि यू.के.मा रहेकाे राप्ती समाजलाई खाेज्न र गुहार माग्न थालेका छन्।

गाउँ–गाउँ र घर–घरसँग जाेडिएकाे छ, राप्ती समाज यू.के.। दुःखी र पीडित, गरिब र असाह्य बालबालिकासँग जाेडिएकाे छ, राप्ती समाज यू.के.।

परदेशकाे सुख, सुविधा र सम्पन्न जीवनका बाबजुद पनि मानिसले आफ्नाे गाउँ घर, समाज, मातृभूमी बिर्सन्न भन्रे उदाहरण हाे, राप्ती समाज यू.के. र यसमा आवद्द सदस्यहरू।

गाउँमा अस्पताल छैन, खानेपानी छैन, विद्यालय छैन भनेर खबर पाउन साथ सहयाेगमा जुटिहाल्छ, राप्ती समाज यू.के.।

मानवीयताकाे सफा हृदयले आफ्नाे भूमिमा समर्पित याे समाजले सुरूवातीदेखि नै राप्तीका विभिन्न गाँउ र समुदायलाई सहयाेग गर्दै आएकाे छ। झन् पछिल्लाे समय त याे समाजले आफ्नाे सहयाेग सक्रियता निकै बढाएकाे छ।

हिकमत सिङ रोकाले समाजकाे नेतृत्व लिएसँगै समाजमा आवद्द अन्य सदस्यहरू पनि खुल्ला हृदयले आफ्नाे भूमीलाइ सहयाेग गर्न तल्लीन बनेकाे देखिन्छन्।

मानवीय र सामाजिक मनका निकै धनी छन्, समाजका अध्यक्ष हिकमत सिङ रोका। उस्तै सहयाेगी मनका छन्, अन्य सदस्यहरू पनि।

सानैदेखि सामाजिक कार्यमा असाध्यै रूची राख्ने राेका लामाेसमयदेखि यू.के.मा छन्। तर उनकाे मन नेपालमै छ। उनी मातृभूमीका गाउँ, घर, समाज, छिमेकीका सुख र दुःखहरू बुझिरहन्छन्। मानिस जति नै सम्पन्न बने पनि खुशी भनेकाे आफ्नै गाउँघरमा भेटिने उनकाे विश्वास छ। र त, पसिना बगाएर कमाएकाे आम्दानी आफ्नै गाउँघरकाे लागि लगानी गरिरहन्छन्। अझै भन्ने हाे भने, पछिल्लाे समय त उनी राप्तीका विभिन्न दुखी र पीडितहरूकाे लागि भगवान नै बनेका छन्। सरकार र सम्बन्धित निकायले गर्नुपर्ने कामहरू पनि उनै राेका र उनकाे समाजले गरिरहेकाे पाइन्छ।

हालै मात्र रोल्पाको त्रिवेणी गाउँपालिकाका ३६ घर अग्निपीडितहरूलाई राप्ती समाज यू.के.ले बैशाख ३१ गते नगद सहयाेग गरेकाे छ।

काेराेनाकाे दाेस्राे लहरले निम्त्याएकाे संकटपूर्ण समयमा पीडितहरूलाई दैनिकी चलाउनै सकस परिरहेकाे समयमा समाजले पाँच लाख ४० हजार आर्थिक सहयाेग गरेकाे हाे। प्रत्येक घर परिवारलाई पन्ध्र हजारका दरले नगद सहयाेग गरेपछि अग्निपिडित बयाबृद्व पार्बति सेन ठकुरीले त आपतमा सहयाेग गर्ने बेलायतका लाहुरेहरू धेरै बाच्नु, अझै ठुलाे ठुलाे काम गर्नु भनि हर्षबिभाेरका साथ आशिर्बाद दिएका थिए।

आफूहरू जहाँ रहे पनि आफ्नाे मन सधैँ मातृभूमीमै रहने बताउँदै अध्यक्ष राेकाले अग्निपीडितहरूकाे दु:ख र समस्यामा सहयाेग गर्न खाेजेकाे बताए।

'पीडितहरूकाे पिडा आफ्नै छ। यहीँ बेला काेराेना भाइसरकाे महामारीले झन् अवस्था नै भयावह बन्दै गएकाे छ,' उनले भने, 'उनीहरूकाे लागि घरमा बसाै‌ं, घर छैन। खाना खाउँ, अन्न छैन। कतै जाउँ र केही गराैं भने पनि कर्फ्यू छ। यस्ताे दु:खमा हामीले सानाे सहयाेग गरेका हाैं।'

पीडितहरूकाे वास्तविक पिडा बुझेरै आफूहरूले मल्हम लगाउने काेशिस गरेकाे उनकाे भनाइ थियाे।

उक्त सहयाेग रकम समाजका सह-कोषाध्यक्ष हरि बुढा मगरको हातबाट हस्तान्तरण गरिने उनले जानकारी दिए।

त्यसाे त, राप्ती समाज यू.के.ले यसअघि पनि राप्तीका विभिन्न जिल्लामा आइपरेका विपतबाट पीडित बनेकाहरूलाई सहयाेग गरिसकेकाे छ। राप्ती समाज यू.के.ले स्थापनाकालदेखि हालसम्म गरेका विभिन्न सहयाेग यस प्रकारका छन्:
१, प्युठान स्याउलीबाङका अग्निपीडितलाई सात लाख
२, दाङ, राजपुरका अग्निपीडितलाई एक लाख ५० हजार सहयोग
३‍‍ दाङ, घोराही जिल्ला अस्पताललाई एक लाख ४० हजारको सोलार पावर
४, साउदी जेलमा रहेका रोल्पाको दिल बहादुर घर्ती बचाउ अभियानलाई १० लाख
५, विद्युत् सर्ट भएर दुबै हात र एउटा खुट्टा गुमाएका रूकुमका कृष्ण ओलीलाई पाँच लाख
६, लोकस्टार विजेता बनेका रोल्पाका शनी बिश्वकर्मालाई ५० हजार
७, रोल्पाका कमडियन खपबु चञ्चललाई तीन लाख ५० हजार
८, भुकम्प पीडित नुवाकोट स्कुललाई फर्निचरको लागि दुई लाख
९, भुकम्प पीडित सिन्धुपाल्चाेक शुभ बिहानी मा.विलाई एक लाख ५० हजार
१०, प्युठान खलंगा अग्निपीडितहरूलाई चार लाख
११, रूकुम लुकुममा चौतारा निर्माणका लागि एक लाख
१२, रूकुम झुम्लबाङ फाउण्डेसनलाई एक लाख
१३, दाङको बबई बाढी पीडितहरूका लागि पाँच लाख
१४, रोल्पा बिहानी प्रस्तावित प्रा़.बि. मसिनालाई एक लाख सहयोग
१५, सल्यान पहिरोमा परेर बाबा आमा गुमाएका १३ बर्षे कमला बिक, १० बर्षे पुत्ला बिक र ८ बर्षे सुनिता बिकलाई एक लाख ७० हजार
१६, प्युठान बाली बेसाउनी मा़ विलाई एक लाख
१७, रोल्पा दुबिडाँडाका बाबा आमा गुमाएका बालबालिकाहरूलाई २ लाख ५० हजार
१८, दाँङ मा.वि सतबरियालाई फोटोकपी मेसिन जडान ५० हजार
१९, रोल्पा त्रिवेणी अग्नीपीडितलाई ५ लाख ४० हजार, आदि। 

प्रकाशित मिति: : 2021-05-23 07:17:00

प्रतिकृया दिनुहोस्