एमालेबाट पूर्वप्रधानमन्त्रीद्वय खनाल र नेपालसहित ११ विघटित सांसद् निष्कासित, घनश्याम भुसालसहित १२ नेतासँग स्पष्टीकरण

नेकपा एमालेले पार्टीका वरिष्ठ नेता रहेका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

एमाले स्थायी कमिटीको सोमबार अपरान्ह बसेको बैठकले यस्तो कारवाही गरेको हो । निष्कासित हुनेमा पूर्व उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपानेदेखि युवानेतृ रामकुमारी झाँक्रीसम्म छन् ।

एमाले प्रचार विभाग उप–प्रमुख सूर्य थापाका अनुसार, उनीहरुले शनिवार पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र लगातार पार्टीहितविपरीत काम गरिरहेका कारण पार्टीले उक्त निर्ण‍य गरेकाे हो । निष्कासित हुनेमा खनाल, नेपाल र रावलबाहेक सबै विघिटत प्रतिनिधिसभाका समानुपातिक तर्फका  सदस्य थिए । 

जसमा झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन्।

उनीहरुलाई पार्टी हितविपरीत काम गरेको भनी शनिबार स्पष्टीकरण सोधिएको थियो। तर, नेपाल र खनालसहितका ११ नेताले कुनै स्पष्टीकरण दिएका थिएनन्।

बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले थप १२ जना एमाले नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्रीबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका ती १२ जना सांसद् पनि नेपाल समूहकै हुन् । उनीहरुले सोमबारै देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका विघटित प्रतिनिधसभा सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, झपटबहादुर रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन्।



एमालेद्वारा नेपाल, खनाल र रावलसहित विघटित प्रतिनिधिसभाका ११ सदस्यसँग स्पष्टीकरण माग, निस्कासन गर्ने तयारी 

घनश्याम-योगेशले प्रधानमन्त्रीसँग गरेको सहमति भीम रावलले उल्टाए, नेपाल र रावल आजै निष्कासित हुनसक्ने

पहिले पार्टी नफुटाएकाहरु एमाले फुटाउन उत्साहित,०५४ सालमा माले भएकाहरु निरुत्साहित 

 

प्रकाशित मिति: : 2021-05-24 18:56:00

प्रतिकृया दिनुहोस्