उज्वल थापाको परिवारले भन्यो: दुर्गा प्रसाईंको सहयोग आवश्यक पर्दैन

Photo- Routine of Nepal banda
Photo- Routine of Nepal banda

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको परिवारले बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँले उपचारका लागि गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको छ।

थापाको परिवारको तर्फबाट शनिबार विज्ञप्ति जारी गर्दै हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नपर्ने जनाएको छ।

यसअघि प्रसाईँले थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम आफूले व्यहोर्ने घोषणा गरेका थिए। तर थापाको परिवारले प्रसाईँको सहयोग अस्वीकार गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ।’

चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको जानकारी गराएको छ।

'यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ। त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ', विज्ञप्तिमा भनिएको छ।

विवेकशील साझाका पूर्व संयोजक थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन्। अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उनको उपचार भइरहेको परिवारले बताएको छ। 

प्रकाशित मिति: : 2021-05-29 13:28:00

प्रतिकृया दिनुहोस्