ओली सरकारको आइडिया : भारतलाई बालुवा र ढुंगा बेचेर व्यापार घाटा कम गर्ने !

अर्थसचिव भन्छन्– भारत, माल्दिभ्स जुन कुनै देशलाई बेच्न सक्छौं

रातोपाटी

काठमाडाैं

ओली सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा नेपालको ढुंगा, गिटी र बालुवा भारतलाई बेचेर व्यापार घाटा कम गर्ने ‘आइडिया’ फुराइएको छ। वातावरणविदले भने सरकारको यस्तो आइडियाले नेपालको चुरे क्षेत्र सखाप हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ।’

बजेटका गरिएको यस्तो व्यवस्था देखेर आफू चकित परेको एकजना वातावरणविदले रातोपाटीलाई बताए। ‘ढुंगा, गिट्टी, बालुवा निकासी गरिनेछ भनिएको भए स्वदेशमै निकासी गर्न दिइने बुझिन्थ्यो’ ती वातावरणविद भन्छन्, ‘तर, निकासी गरी व्यापार घाटा कम गरिनेछ भनिएको हुनाले भारतमा निकासी गर्न दिइने प्रष्ट अर्थ लाग्छ।’

सरकारको यो निर्णयले अब नेपालको प्राकृतिक स्रोत साधन र चुरे क्षेत्रको विनाश हुने उनी बताउँछन्। ती विज्ञका अनुसार ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने भन्नुको अर्थ अब भारतमा ढुंगा, गिट्टी, बालुवा निकासी गर्न दिइने भनिएको हो। नेपालको ढुंगा, गिट्टी, बालुवा चीन वा तेस्रो देशसम्म निकासी हुने कुरै भएन।

विगतमा तस्करहरूले ढुंगा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने गरेका कारण चुरे क्षेत्रको दोहन भएपछि सरकारले निकासीमा रोक लगाएको थियो। स्वदेशमा भइरहेको निर्माण कार्यलाई असर परेको भन्दै व्यवसायीहरुले स्वदेशमा प्रयोग हुने गरी निकासी खुला गर्न माग गर्दै आएका थिए।

प्रकाशित मिति: : 2021-05-30 20:27:00

प्रतिकृया दिनुहोस्