कस्तो होला झलनाथ–माधव विनाको एमाले ?

पार्टी निर्माणको कठिन समयका नेताहरू अब दल बाहिर

अनलाइनखबर

काठमाडाैं

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ। तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन्।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना नगर्दा एमाले विभाजन उन्मुख भएको अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूले आरोप लगाउने गरेका छन्। ‘कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नेदेखि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेसम्मका घटनाले पार्टी विभाजनको अवस्थामा पुगेको हो’, ओली निकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा भन्छन्।

पार्टी निर्णय विपरीतका गतिविधि र निर्णयमा संलग्न भएको आरोपमा ओलीले पूर्वप्रधानमन्त्रीहरू खनाल र नेपालसहित एघार जनालाई एमालेको साधारण सदस्यबाट समेत निष्कासन गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव (७ जेठ)मा खनाल–नेपाल समूहका २६ जनाले हस्ताक्षर गरेका थिए। त्यसमध्ये ११ जनालाई ओलीले १० जेठमा स्थायी कमिटीको बैठक बोलाएर कारबाही गरेका हुन्।

तर जवाफमा खनाल–नेपाल समूहका १५ जना स्थायी कमिटी सदस्यहरूले ओली विरुद्ध ‘एकताबद्ध संघर्ष’को खाँचो रहेको निष्कर्ष सार्वजनिक गरेका छन्। अर्थात् पार्टी सदस्यबाट निष्कासनको निर्णयले थोरै पनि नझस्किएको सन्देश यो समूहले दिन खोजेको देखिन्छ। ‘…आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछौं’— १२ जेठमा सामूहिक वक्तव्य मार्फत आह्वान गरिएको छ।

प्रकाशित मिति: : 2021-05-31 12:01:00

प्रतिकृया दिनुहोस्