ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्तहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-३ बस्ने ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका-१ बस्ने १९ वर्षीय विपन लिम्बु रहेका छन्।
केराबारी गाउँपालिका-३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा अवस्थामा गत बैशाख ८ गते साँझ भरुवा बन्दुकको गोली लागेर सोही ठाउँ बस्ने ३२ वर्षीय हस्त कुमार राईको मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रही फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
साथै उक्त वनमा लुकाई राखेको ३ थान भरुवा बन्दुक र लेटाङ नगरपालिका-१ स्थित जंगलको ओडारमा लुकाई राखेको १ थान गरी जम्मा ४ थान भरुवा बन्दुक समेत प्रहरीले फेला पारी बरामद गरेको छ।
साथै सोही घटनामा संलग्न केराबारी गाउँपालिका-३ बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३७ वर्षीय गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते उनीहरुकै घर वतनबाट प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ व्यक्तिहरु उपर ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूर सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।