समाजका लागि केही गर्न चाहने युवा समूह

File photo
File photo

झलनाथ खनाल
कैलालीको टीकापुर नगरपालिका–३ का राजेन्द्र विश्वकर्माले कलाकारिताको माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्दै अभियान शुरु गरे।

गाउँगाउँमा अधिकारका नारा लगाउँदै सडक नाटकका माध्यमबाट नागरिकमा सचेतना फैलाउँदै जानुभएका राजेन्द्रले समाज परिवर्तन भएको देख्नेहरुले पहिला आफू परिवर्तन हुनुपर्ने धारणा राख्दै आएका छन्। 

टीकापुर बजार क्षेत्रमा ‘समाजका लागि एक घण्टा’ अभियान शुरु गरेका राजेन्द्रले दैनिक एक घण्टा बजार सरसफाइ अभियान चलाएका थियो।

त्यो अभियानले पाँच महिना निरन्तरता पायो भने अन्य नागरिक समूह र पातञ्जल योग समिति टीकापुरले त्यो कार्यक्रमलाई निरन्तरता दिएको थियो।

दैनिक २३ घण्टा आफ्नो लागि बिताउन सक्नेले समाजका लागि एक घण्टा छुट्याउन सके पनि विकास र समृद्धिका लागि कसैको मुख ताक्नु नपर्ने राजेन्द्र बताउछन्।

'समाजले के दियो भनेर हामी भन्छौँ तर समाजलाई हामीले के दिएका छौँ त्यो महत्वपूर्ण हो' राजेन्द्रले भने, 'हामी काम कम गर्छौँ प्रचार बढी खोज्छौँ, यसले समाजमा परिवर्तन ल्याउन सकिन्छ त ?' अहिले पनि उहाँको नेतृत्वमा गुडिमुन्टे समूहको नामबाट युवाहरूको समूह छ। 

यो समूह कलाकारिताबाट होस् वा अन्य कुनै माध्यमबाट समाजसँग प्रत्यक्ष जोडिएको छ। कोरोनाको दोस्रो लहर शुरु हुनुभन्दा पहिले समुदायमा थुप्रै सचेतनामूलक सडक नाटकबाट नागरिकलाई जनचेतना फैलाउने काम भएको समूहमा आबद्ध युवा सीता नाथ बताउछन्।

टीकापुरका लोकबहादुर बुढा क्षेत्री पेशाले व्यापारी छन्। उनको समाजप्रतिको सहानुभूति छुट्टै छ। उनीसँग अटोरिक्सा व्यवसायी जोडिएका छन्। अहिलेको महामारीमा तिनै अटोरिक्सा चालकले आफ्ना अटोरिक्सालाई आपत्कालीन एम्बुलेन्स बनाएका छन्। बिरामीलाई घरदेखि अस्पतालसम्म ओहोरदोहोरका लागि तिनै अटोरिक्साको प्रयोग हुने गरेको छ। 

अटोरिक्साको तेल खर्च लोकबहादुरले जोहो गर्दै आएका छन्। 'सहयोगी दाताबाट भएको सहयोगले अटिरिक्साका लागि पेट्रोलको व्यवस्थापन गरेका छाँै । समूहमा आबद्ध साथीहरुले पनि राम्रो साथ दिनुभएको छ' लोकबहादुरले भने, 'यस्तो विपत्तिमा एकले अर्काको सहयोग गर्नु हाम्रो कर्तव्य हो, त्यही कर्तव्यलाई हामीले निर्वाह गरेका मात्र हौं।'  

उनले कुनै बिरामीलाई नेपालगञ्ज, धनगढी सिफारिस गर्नुपर्ने भए पनि अर्थावस्था निकै कमजोर भएकालाई निःशुल्क अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको बताए। 

तेह्र युवाको समूहले युवा क्लब गठन गरेपछि अहिले साजाजिक कार्यमा क्लब सक्रिय देखिएको छ। कोरोनाको महामारीमा टीकापुर अस्पतालको प्रवेशद्वारमा क्लबले हेल्थडेस्क स्थापना गरेको छ। अस्पतालमा आउने बिरामीलाई मास्क, पिउने पानी, आवश्यक परामर्श दिने काम गर्दै आएको क्लबका उमेश नाथ बताउछन्। 

क्लबले त्यति मात्रै नभई आर्थिक अवस्था कमजोर भएका अस्पताल पुगेर उपचार गराउन नसकेका बिरामीको उपचारका लागि समेत सहयोग गर्दै आएको उमेशले बताएका छन्। उनले नगरपालिकाको विशालनगर शिविरबाट एक वृद्ध महिलाको उद्धार गरी कञ्चनपुर आश्रममा पु¥याउने कामसमेत गरेको बताए।

'हिलो चरणको कोरोना सङ्क्रमणका समयमा पनि हामीले अस्पतालबाहिर हेल्थडेस्क राखेर नागरिकको सेवा गर्ने अवसर पाएका थियौँ। अहिले पनि त्यो अवसर पायौँ', उमेशले भने, 'सामाजिक कार्य गर्नु जति आनन्द अरु केहीमा छ जस्तो लाग्दैन र पछिल्लो समयमा युवाहरू समाजप्रति जिम्मेवार बन्दै गएको देख्दा झनै खुशी लाग्छ।' 

कोरोनाका कारण भएको निषेधाज्ञाको समयमा कसैले खान नपाएर मर्न नपरोस् भन्दै युवाहरूले ‘बेसहाराका लागि सहारा’ कार्यक्रम शुरु गरेका छन्। टीकापुरका युवा व्यापारी जीवन विष्टको नेतृत्वमा युवा समूहले थुप्रै बेसहारालाई खाद्यान्न सहयोग गरेको छ। 

'सामाजिक सञ्जालमा स्वःस्फूर्तरूपमा अपिल गरेको सहयोग आह्वानलाई स्वीकार गर्दै थुप्रैले सहयोग गरे। त्यही सहयोगले हामीले बेसहारालाई सहयोग गर्न सकेका छौं' जीवनले भने, 'एक मानवले अर्को मानवलाई सहयोग गर्नु नै पुण्य हो। हामीले त्यही एक पुण्यको काम गरेका मात्र हौँ।' रासस 
 

प्रकाशित मिति: : 2021-06-06 12:14:00

प्रतिकृया दिनुहोस्