समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित हिमालको फेदीमा भक्तजनका लागि भक्तशाला निर्माण भइरहेको छ।
सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण भइरहेको समितिका अध्यक्ष दीपक ताम्मादेनले बताए।
किरात धर्मावलम्बीको पवित्र धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको फक्ताङलुङ हिमालमा दर्शन गर्न आउने दर्शनार्थीका लागि भक्तशाला निर्माण गर्न लागिएको उहाँले जानकारी दिए।
निर्माणका लागि प्रदेश नं १ सरकारमार्फत रु दश लाख र देश विदेशमा रहेका सहयोगी व्यक्तिबाट सहयोग सङ्कलन गरी जम्मा रु ६० लाख लागतमा भक्तशाला निर्माण हुने समितिका सचिव केदारजङ्ग लिम्बूले बताए।
निर्माणाधीन भक्तशाला ३०० जना बस्ने क्षमताको निर्माण हुनेछ। उच्च हिमालको फेदीमा किराती प्रत्येक वर्ष तीर्थ जाने तीर्थस्थलका रुपमा रहेको फक्ताङलुमा पुग्ने गरेको लिम्बूले बताए। तीर्थयात्री विगतका वर्षमा पाल राखेर बस्दा हिउँ परे समस्या खेप्नुपर्ने भएकाले भक्तशाला निर्माण गर्न लागिएको समितिका सल्लाहकार ज्ञानु फुरुम्बोले बताए।
सोहौं राष्ट्रिय विभूति फागुन्द लिङ्देनले १५० जना आफ्ना चेलासँग १९९३ सालमा पहिलोपटक फक्ताङलुङमा पुगेर तपस्या गरेको इतिहास रहिआएको छ । त्यसपछि फक्ताङलङमा तीर्थ जाने प्रचलनको विकास भएको फुरुम्बोले बताए। रासस