सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरण बैंक खातामा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम सीधै आफ्नो बैंक खातामा आउने भएको छ।

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने प्रणाली शुरु गरेको हो।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार यसबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवानिवृत्त कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन्।

उक्त प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठूलो सहयोग पुग्नेछ। उनका अनुसार समयभित्र निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ। निवृत्तिभरण पाउने व्यक्तिले अब छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन्। रासस

प्रकाशित मिति: : 2021-06-07 20:02:00

प्रतिकृया दिनुहोस्