मंगलबारे यूवा क्लबद्वारा विपन्नलाई खाद्यान्न वितरण

मंगलबारे युवा क्लबले उर्लाबारीस्थित वडा नम्बर ८ को बहादुरबाबा चौधरी टोललाई खाद्यान्न सामग्री वितरण गरेको छ। 

कोरोना कहरको पहिलो चरणदेखि नै विपन्न समुदायलाई सहयोग गर्दै आएको क्लबले सोमबार घर टहराले भरिभराउ रहेको चौधरी टोलका विपन्नलाई खाद्यान्न वितरण गरेको हो। 

बहादुरबाबा प्रावि अगाडि एक सय ५० घर परिवारलाई खाद्य सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष पीपलराज गिरीले जानकारी दिए।

वितरण गरिएको खाद्य सामग्रीमा १० किलो चामलका साथै दाल, खाने तेल, साबुन, नुनलगायत रहेको उनले बताए। 

‘जहाँ,जहाँ चुल्हो निभ्छ, त्यहाँ मंगलबारे युवा क्लब पुग्छ’ भन्ने उदेश्यका साथ शुरु भएको अभियानमार्फत हालसम्म १२ सय घरपरिवारलाई खाद्यान्न वितरण गरिएको उनको भनाइ छ। 

दैनिक हातमुख जोर्नका लागि मजदुरी गर्ने अधिकांश टोलबासी निषेधाज्ञाका कारण उकुसमुकुसको जिन्दगी गुजार्न बाध्य भएका उनीहरु आवश्यक खाद्य सामग्री पाएपछि खुशी भएका छन्। 

चामलको अभावले कति छाक भोकभोकै बसेको सुनाउँदै स्थानीय सन्तोष धामीले मंगलबारे युवा क्लब आफ्ना लागि साक्षात भगवान भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए। 

त्रिकाल परिवार फाउन्डेसन उर्लाबारीको समन्वयमा राहत वितरण गरेको अभियानका संयोजक खड्गबहादुर थापा भुपालले बताए। 

'हुनेले दिने, नहुनेले लिने' भन्ने उदेश्य लिएर खाद्य सामग्री संकलन र वितरण गरिदै आएको उनको भनाइ छ। 'महामारीको बेला उर्लाबारी क्षेत्रमा कोहि पनि भोकै नरहने अवस्था सिर्जना गरिनेछ' उनले भने। 

समाजसेवी डा.मोहन शमशेर थापाको प्रमुख आतिथ्यता रहेको खाद्य सामग्री वितरण कार्यक्रममा त्रिकाल परिवार फाउन्डेसनका अध्यक्ष नारायण बस्नेत, क्लबका उपाध्यक्ष शंकर निरौला, स्थानीय समाजसेवीहरु किरण श्रेष्ठ, इन्द्र लामा, संजोग अधिकारी, खड्ग पौडेल, नविन खड्कालगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: : 2021-06-07 22:30:00

प्रतिकृया दिनुहोस्