‘स्वास्थ्य मापदण्ड पालनाले मात्रै महामारीबाट जोगिन्छ’

बिएल संवाददाता

रुपन्देही 
Jagaran.com
Jagaran.com

स्वास्थ्य मापदण्ड पालना गरेमात्रै कोरोना महामारीबाट जोगिन सकिनेमा सहभागी वक्ताहरुले जोड दिएका छन्। 

कदम नेपाल र कोभिड विशेष नर्स समूहले आज आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने विषयक भर्चुअलमाध्यमबाट आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनीहरुले स्वास्थ्य मापदण्ड पालनाले आफू जोगिने मात्र नभइ अरुलाई पनि जोगाउने भएकाले लापरवाही नगर्न सबैमा आग्रह गरे। 

समूहका राष्ट्रिय संयोजक दुर्गा सापकोटाले कोभिड–१९ का महामारीबाट जोगिन उचित खानपान, आइसोलेशनको बसाइ, स्वास्थ्य सतर्कता र नियमित व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिए। 

उनले गर्भवती, उच्च रक्तचाप, चिनी र दीर्घरोग लागेका व्यक्तिहरु बढी जोखिममा रहने भएकाले यस्ता व्यक्ति सङ्क्रमण भए तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्ने बताउँदै सामान्य अवस्थामा भने पिसिआर परीक्षण गरी आइसालेशनमा बस्नुपर्ने बताए। 

उनले सङ्क्रमण भएर आइसोलेशनमा बस्दा घरमै अक्सिमिटरको सहायताले अक्सिजनको मात्रा जाँच गरी ९४ भन्दा तल भएमात्रै डाक्टरको सम्पर्कमा रहनुपर्ने अन्यथा आत्तिएर अस्पताल जान आवश्यक नरहेको धारणा राखे। 

उनले सङ्क्रमित व्यक्तिले कार्बोहाइड्रेट कम भएको खाना खाने, स्वस्थवद्र्धक खाना खाने र शरीरको आवश्यकता अनुसार दैनिक व्यायाम गर्नुपर्नेमा पनि जोड दिए।

समूहका लुम्बिनी प्रदेश परामर्शदाता सुमित्रा ढकालले कोरोना भाइरस सङ्क्रमणको लक्षण नभएको अवस्थामा  पिसिआर परीक्षणका लागि नमूना संक्कलन भएको दिनदेखि १० दिनसम्म र लक्षण भएको अवस्थामा नमूना संक्कलन भएको दिनदेखि कम्तिमा १० दिनसम्म पनि लक्षण रहिरहेमा १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने जानकारी दिए। 

सो समूहका प्रदेश संयोजक सृष्टि आचार्यले कोभिड विरुद्ध दिइने खोपबारे धेरै भ्रम रहेकाले भ्रममा नपरी खोप लगाउन सबैमा आग्रह गरेका थिए। कोरोनाविरुद्ध लड्ने क्षमता वृद्धि गर्ने भएकाले खोप लगाउँदा सुरक्षित हुन सकिने उनको भनाइ छ।

कार्यक्रममा कदम नेपालका अध्यक्ष निरु गौतमले अहिले परिवारका एक जना सदस्यले पनि लापरबाही गरे सबै सदस्य कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहने भएकाले  यसतर्फ सचेत हुन सबैमा आग्रह गरे। रासस 

प्रकाशित मिति: : 2021-06-08 18:06:00

प्रतिकृया दिनुहोस्