‘हामी समाप्त हुन तयार छौं, एमाले खरानी हुन दिन्नौं’

अनलाइनखबर

काठमाडौँ

सइन्द्र राई

साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै विभाजित बनेको पुनर्स्थापित एमाले अलग संगठन संरचनामा चलिरहेको छ । पार्टी संरचनादेखि संसदीय मोर्चामा समेत विभाजित हुनुको मूल्य एमालेले चुकाउँदै पनि आएको छ ।

तर केही समय यता दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन भनेर सक्रिय छन् । तिनैमध्येका एक हुन्- गोकर्ण विष्ट । एमालेको नवौं महाधिवेशनबाट सचिव निर्वाचित विष्ट, एमाले नजोगाउने हो भने पश्चिम बंगाल वा सोभियत युनियनको इतिहास दोहोरिने बताउँछन् ।

केही नेताको व्यक्तिगत स्वार्थ र दुवै समूहमा रहेको अतिवादी चिन्तनले पार्टी एकतामा अप्ठ्यारोे परेको बताउने विष्ट भन्छन्, ‘हामी मासिन, समाप्त हुन तयार छौं । हामीलाई कुनै पद चाहिएको छैन । तर हामीलाई एउटा सबल कम्युनिष्ट पार्टी चाहिएको छ ।’

एकता नचाहने नेताहरूबारे विष्ट व्यङ्ग्य गर्छन्, ‘कतिपय व्यक्तिमा ठूलो समुद्रमा पौडी खेलेर प्रतिस्पर्धाको दौडमा आफूलाई श्रेष्ठ सावित गर्ने आँट नहुन सक्छ । त्यसका कारण सानो पोखरी खोज्नुपर्ने अवस्था होला । तर ठूलो समुद्रमा पौडी खेलेर प्रतिस्पर्धामा श्रेष्ठता स्थापित गर्न सक्छौं भन्ने हामीमा आँट छ ।’

प्रस्तुत छ, विष्टसँग अनलाइनखबरकर्मीले गरेको कुराकानीको सम्पादित अंश :

एमाले व्यावहारिक र राजनीतिक रूपले विभाजित छ । ५ पुस यताको गतिविधिबाट निकै टाढा पुगिसक्नुभएको छ । तर तपाइँ सहित केही नेताहरू एमाले एकता भनिरहनुभएको छ । किन फेरि जरूरी परेको एकता ?

नेकपाको आन्तरिक अन्तरविरोध सही ढंगले व्यवस्थापन गर्न नसक्दा एमाले र माओवादी केन्द्रबीचको एकता जोगाउन सकेनौं । तर सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र अलग अस्तित्वमा फर्कायो । त्यसपछि एमाले एकताबद्ध गर्ने र पार्टीको समस्या पार्टीभित्रै व्यवस्थापन गर्ने भन्ने झलनाथ खनाल र माधव नेपाल समूहभित्र हामी सबैको जोड रहृयो । अन्तरविरोधको समाधान पार्टीभित्रै खोज्ने निष्कर्षका साथ हाम्रो मान्यता सार्वजनिक गर्‍यौं ।

तर, दुःखका साथ भन्नुपर्छ- अध्यक्ष कमरेडले फागुन २८ गते आधा केन्द्रीय सदस्यहरूलाई कुनै सूचना नदिइकन बालुवाटारमा बैठक बोलाउनुभयो । त्यसलाई केन्द्रीय कमिटीको नाम दिएर पदाधिकारी पदमुक्त गर्ने, जिम्मेवारी हेरफेर गर्ने, महाधिवेशन आयोजक कमिटी बनाउने काम गर्नुभयो । यस्तो अभ्यास नेकपा एमालेको इतिहासमा कहिल्यै भएको छैन । केही व्यक्तिलाई थपेर त्यसैलाई प्रचार गरियो ।

यसले एमालेभित्र तिक्तता र अविश्वास बढ्यो । हाम्रो समूहले २८ गतेको निर्णय सच्याउनुपर्ने अडान लियौं, अध्यक्षले सच्याउदिनँ भनेर अडान राख्नुभयो । यी अडानहरू बीच लड्दै जाँदा समानान्तर अभ्यास गर्ने, केन्द्र र प्रदेशमा फ्लोर क्रस गर्ने जस्ता नौलो अभ्यासहरू देखा परे । यी अभ्यासको मूल जग पार्टी संस्थागत ढंगले र प्रणालीका आधारमा नचलाउने कुराबाटै सिर्जित थियो ।

प्रकाशित मिति: : 2021-06-11 22:35:00

प्रतिकृया दिनुहोस्