बाढीका कारण सदरमुकाम दुनै जाेड्ने पुल धराप, सवारी ठप्प

डाेल्पा सदरमुकाम दुनै जाेड्ने रुपगाड खाेलाकाे काठे पुल धरापमा परेकाे छ। 

दुई दिनदेखिकाे निरन्तर बर्षातका कारण खाेलाकाे बहाव बढेपछि पुल धरापमा परेकाे हाे।

पुल धरापमा परेसँगै चारपाङ्ग्रे सवारीसाधन आवागमन ठप्प भएकाे छ भने काम विशेषले सदरमुकाम जाने सर्वसाधारणहरु नजिकै बनाइएको  पुरानाे जाेखिमपूर्ण पुलबाट आवतजावत गर्न बाध्य भएका छन्। 

दैनिक उपभाेग्य  वस्तुहरु ओसारपसार गर्ने ट्याक्टर,बिरामी बाेक्ने जीप लगायतका सवारीसाधन खाेलाका दुई किनारमै राेकिएका छन्।

प्रत्येक घन्टामा बहाव बढिरहेकाले केही समयमै पुलकाे सबै काठ बगाएर लैजाने सम्भावना रहेकाे यातायात व्यवसायी बताउँछन्। 

निरन्तर भइरहेको बर्षातका कारण बढेको खाेलाले पुलकाे दुबैतीरकाे तटबन्ध भत्काउनुका साथै कटान पनि शुरु गरेकाे स्थानीय धुर्व शाहीले जानकारी दिए। अझैसम्म खाेलाकाे बहाव बढीरहेकाले रुपगाड बस्ती नै जाेखिममा परेकाे उनले बताए। 

'जतिसक्दो छिटाे खाेलाकाे तटबन्ध निर्माण गरेर जमिन कटान राेक्नुपर्छ, ढिला गरे अहिले बाँकी रहेकाे जमिन पनि बगाएर लैजाने सम्भावना छ' शाहीले भने। 

खाेलाले आफ्नो मार्ग फराकिलो बनाउँदै गएकाले डराई-डराई हिँड्नुपर्ने अवस्था रहेकाे त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायले गुनासो गरे। 

सदरमुकाम प्रवेश गर्ने मुख्य पुलकाे रुपमा रहेकाे उक्त काठकाे पुल बलियो ढङ्गबाट निमार्ण गरी यथाशीघ्र सुचारु गर्नपर्ने सर्वसाधारणकाे माग छ। 


 

प्रकाशित मिति: : 2021-06-14 21:18:00

प्रतिकृया दिनुहोस्