देउवाजी प्रधानमन्त्री बन्नुस्, म भिड्छु : डा. शेखर कोइराला

रातोपाटी

काठमाडौं

नेपाली काँग्रेसका केन्द्रीय सदस्यडा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेको वर्ष दिन कटिसकेको छ । आगामी भदौ १६ मा हुने महाधिवेशनको मिति नजिकिँदै जाँदा डा. कोइराला सभापतिमा उठ्ने र जित्ने दाबी गरिरहेका छन् । 

वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अवस्थामा पार्टीमा पोजिसन बलियो हुने र उनी सभापतिमा दोहोरिन सक्ने रामचन्द्र पौडेल पक्षमा त्रास देखिन्छ । डा. कोइराला भने देउवा प्रधानमन्त्री बनेरै महाधिवेशनमा लड्न आए पनि केही फरक नपर्ने बताउँछन् । 

डा. कोइराला भन्छन्, ‘शेरबहादुरजी प्रधानमन्त्री बन्नुस् भनेर म त लागिरहेको छु ।  नेपाली काँग्रेस एक ढिक्का छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुस् र १४ औं महाधिवेशनमा उठ्नुस् । आइ एम ह्याप्पी !’

जब काँग्रेसको महाधिवेशन नजिक आउँछ,  राजनीतिक एजेण्डाभन्दा व्यक्तिको विषयले प्रमुखता पाउने गर्छ । आगामी महाधिवेशनपछि काँग्रेसले लिने राजनीतिक कार्यदिशा के हो ? यसबारे काँग्रेसभित्र अहिलेसम्म बहस भएको छैन । राजनीतिक एजेण्डाबारे प्रश्न गर्दा डा. कोइराला अहिले देशमा तीनवटा राजनीतिक शक्तिहरु रहेको बताउँछन् ।

‘अहिले म के देखिराखेको छु भने देशमा तीनवटा फोर्स हुन्छन् । एउटा दक्षिणपन्थी शक्ति, अर्को मध्यमार्गी शक्ति र तेस्रो वामपन्थी शक्ति’ कोइराला भन्छन्, ‘मध्यमार्गी शक्तिको नेतृत्व नेपाली काँग्रेसले गर्छ । दक्षिणपन्थी फोर्सको ओलीजीले नेतृत्व गर्नुहुन्छ र लेफ्ट फोर्सको नेतृत्व माधव नेपाल, प्रचण्ड, उपेन्द्र यादव, बाबुराम भट्टराईहरुको हुन्छ ।’

भावी सभापतिका दाबेदार रहेका डा. कोइरालाले रातोपाटीसँगको कुराकानीमा कोरोनाका कारण आगामी महाधिवेशन जिल्ला–जिल्लाबाट गर्नुपर्ने, तर सहमतिमा नभई प्रतिस्पर्धाकै आधारमा नेतृत्व चयन हुनुपर्ने बताए । महाधिवेशनको मोडालिटी भने परिवर्तन गरिनुपर्ने उनले बताए ।

प्रकाशित मिति: : 2021-06-16 19:04:00

प्रतिकृया दिनुहोस्