विपद्का बेला हेलम्बुमा पुगेन सरकार : जथाभावी चन्दा उठाउनेलाई कारवाही गर्ने प्रशासनको चेतावनी

रातोपाटी

काठमाडौँ

शम्भु दंगाल

मेलम्ची नदीमा आएको बाढीको विपत्तिले तहसनहस पारिरहेको हेलम्बु क्षेत्रमा ४ दिन बितिसक्दा पनि सरकारको मुख नदेखेको स्थानीयले गुनासो गरेका छन् । ​नदी छेउछाउ रहेका दर्जनौँ घर बाढीले बगाएको छ भने हेलम्बु क्षेत्रमा बाढीबाट झन्डै ३ सय ५० घरपरिवार प्रभावित भएको हेलम्बु गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितले रातोपाटीलाई जानकारी दिइन् ।

असार १ गतेदेखि निरन्तर मेलम्चीमा आएको बाढीले निरन्तर क्षति पु-याइरहेको हेलम्बुमा गएराति आएको बाढीले ३ तले प्रहरी कार्यालय भवन र एउटा बिद्यालयको भवन ढालेको छ । स्थानीयहरु अस्थायी बसोबासका लागि त्रिपाल, पाल, खाद्यान्न लगायतको आशामा बसेपनि सरकारले अहिलेसम्म उपस्थिति नदेखाएको उपाध्यक्ष पण्डितले जानकारी दिइन् ।

उद्धारका लागि गएको नेपाली सेनाबाहेक अन्य सरकारी निकायको अनुहार हेलम्बुमा नदेखेको उनको भनाइ छ ।

केही सामाजिक संस्थाहरुले राहत ल्याएपनि पर्याप्त नभएको उनले बताइन् । अहिले हेलम्बु पुग्न ठाउँ ठाउँमा बाटो भत्किएका कारण गाडी जानसक्ने अवस्था नभएकोले हेलिकोप्टरबाट बाहेक अन्य माध्यमबाट राहत पु¥याउन समेत मुस्किल परेको छ । हेलम्बु क्षेत्रमा अहिलेसम्म बाढीबाट कति क्षति भयो एकिन गर्ने अवस्था नभएको उपाध्यक्ष पण्डितले बताइन् । उनले भनिन्, ‘एकैठाउँमा भए पो यति क्षति भयो भन्नु । बाढीले हरेक दिन ठाउँ ठाउँमा क्षति पु-याएरहेको छ । अहिले क्षतिको एकिन गर्ने अवस्था नै छैन ।’

घर गुमाएका परिवार यतिबेला माथिल्लो भागमा गएका छन् । तर उनीहरुलाई अस्थायी रुपमा बसोबास गराउन पनि मुस्किल छ । गाउँपालिका उपाध्यक्ष पण्डितले भनिन्, ‘यहाँ त बेहाल छ, न टेन्ट छ, न बस्ने ठाउँ छ । बिजुली बत्ती छैन, त्रिपाल, टेन्ट छैन । नदी छेउछाउमा हुनेहरु रातारात भागाभाग गर्नुपर्ने अवस्था छ । केहीलाई त्रिपाल र टेन्ट हालेर राखिएको छ ।’

प्रकाशित मिति: : 2021-06-19 17:02:00

प्रतिकृया दिनुहोस्