जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–४ फैती बस्तीमा पहिराबाट विस्थापित भएका परिवार राहत र पुनःस्थापनाको माग राख्दै गाउँपालिका पुगेका छन्।
गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ललाई भेटेर पहिराले गाउँ नै जोखिममा रहेकाले तत्काल उद्धार गरी सुरक्षित ठाउँमा पुनःस्थापना र विस्थापित भएकालाई राहत उपलब्ध गराउन माग गरेको पहिरो पीडित नन्दे सुनारले बताए।
पहिराका कारण चार घर पूर्णरुपमा क्षति भएको तथा अन्य घर चर्किदै गएकाले तत्काल उद्धार र राहतका दिन अध्यक्षसँग आग्रह गरिएको अर्का विस्थापित हस्तवीर मल्लले बताए। गाउँ नै जोखिममा परेपछि अहिले ३३ परिवार विद्यालय र त्रिपालको आश्रयमा बस्दै आएका छन्।
पहिरोबाट विस्थापित भएका परिवारका लागि गाउँपालिकाले तत्काल उद्धार गरी खाद्यान्न र राहत सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार गाउँपालिकाका–४ फैती ३३ परिवार र वडा नं ६ बोल्डिकका १५ परिवार गरी ४८ परिवारलाई राहत र पुनःस्थापनामा लागि पहल भइरहेको छ। रासस