बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा सञ्चालन हुने भएको छ।
दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) भइसकेका पुनका नाममा बुधबारदेखि बेलायतमा रेल वे सेवा सुरु हुन लागेको हो।
बेलायतको प्याडिङटन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेलको नामकरण गर्ने भएको हो।
पुनले भिक्टोरिया क्रस पाएको दिनको अवसरमा उक्त रेल सेवाको नाम उनकै नाममा राखिन लागिएको हो। उनी ७५ वर्ष पुगेको अवसरमा गतवर्ष नै उक्त रेलको नामाकारण गरिने तयारी गरिएपनि कोरोना महामारीका कारण एक वर्ष सरेको थियो।
दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा उनी २१ वर्षका मात्रै थिए । उक्त उमेरमा पनि बहादुरीपूर्वक लडेको भन्दै उनलाई भिक्टोरिया क्रसले सम्मान गरिएको हो।
ग्रेट वेष्टर्न रेलवेका बाह्य सञ्चार प्रमुख डान पान्सले भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताएका छन्।
सन् १९४० मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेका थिए। उनको २०६८ सालमा निधन भइसकेको छ।