संकटमा यातायात क्षेत्र : मजदुरले पेसा परिवर्तन गरे, मालिकलाई किस्ता तिर्ने तनाव

रातोपाटी

भक्तपुर

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाले नेपालमा सबै क्षेत्रलाई असर गर्यो । त्यसमाथि लाखौंले रोजगारी पाएको सार्वजनिक यातायात क्षेत्रलाई समेत यसले ठुलो नोक्सानी सहन बाध्य गरायो ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४, स्थायी ठेगाना भएका सुशास लामिछाने अहिले भक्तपुरको कमलविनायक बस्छन् । उनीसँग सार्वजनिक यातायात क्षेत्रमा काम गरेको १५ वर्ष भन्दा लामो अनुभव छ ।

उनले भने ‘१४ वर्षदेखि सहचालक भएर काम गरे, १२ जनालाई रोजगारी दिएको छु तर, अहिले निकै असजिलो भएको छ ।’ विगतमा बैंकबाट लिएको किस्ता तिरेर, सबै खर्च कटाएर घर धान्न सहज हुने गरेको भएपनि अहिले अवस्था निकै तनावपूर्ण भएको उनको भनाइ छ ।

ख्वप भक्तपुर मिनिबस यातायात अन्तर्गत लामिछानेको ६ वटा बस छन् । ‘ती बसको किस्ता तिर्न र चालक सहचालकको समस्या समाधान गर्न सक्ने अवस्था भएन,’ उनले भने ।

ग्यारेजमा गाडी राखेर लाखौंको लगानी थन्क्याउन पर्ने अवस्था आउँदा यातायात व्यवसायीहरुले ठुलो समस्या भोग्नु परेको गुनासो गरेका छन् ।

२०५० सालबाट यातायात क्षेत्रमा काम गर्न थालेका भक्तपुरका ४४ वर्षीय विश्वराम सिमाछ्वाको समस्या पनि उस्तै छ । सार्वजनिक यातायात खुली हाल्यो भनेपनि प्रहरी र प्रशासनले यो भएन त्यो भएन भन्ने गरेकाले संचालन गर्न निकै कठीनाई हुने गरेको उनको अनुभव छ ।

प्रकाशित मिति: : 2021-06-22 13:19:00

प्रतिकृया दिनुहोस्