त्रिपुरासुन्दरी नगरपालिकाद्वारा ४२ करोड ४० लाख २९ हजारको बजेट प्रस्तुत

नगरप्रमुख बुढाको सम्झनामा सालिक निर्माण गरिने

दुर्गम जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको छैटौँ नगरसभाको उद्घाटन समारोह बिहिबार सम्पन्न भएको छ।

नगरपालिकाको केन्द्र बगरमा आयोजित नगरसभाबाट नगर उपप्रमुख चन्द्राकुमारी बुढाले आव ०७८/७९ का लागि ४२ करोड ४० लाख  २९  हजार रकमको बजेट प्रस्तुत गरेकी छन्।

जसमध्ये चालु खर्चतर्फ ३२  करोड ४१  लाख ३० हजार ९ सय,पुँजीगत खर्च तर्फ ९ करोड ९८ लाख ९९ हजार,वित्तिय समानिकरण तर्फ ९ करोड ७६ लाख ९५ हजार रकम बराबरको बजेट प्राप्त भएको छ।

प्रस्तुत नीति तथा कार्यक्रमा प्रस्तावित बजेटमा नगरलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, कृषि र सडक बिस्तारका क्षेत्रलाई पहिलो प्राथामिकतामा राखिएको उप–प्रमुख बुढाले बताइन्।

नगर प्रमुखसँग कृषि उत्पादन बालीनालीमा आधारीत विशेष प्रोत्साहन अनुदानका लागि प्रति घरधुरी ९६ लाख रकम विनियोजन गरिएको छ।

त्यसैगरी शहरी विकास गुरुयोजना,वस पार्क निर्माण, त्रिपुराकोट कुमारेकोटहुँदै सुलिगाडसम्मको डिपिआर निर्माण, प्रसूती गृह डिपिआर निर्माण, वडा भवन डिपिआर निर्माण, सडक जोडिन बाँकी वडा ४, १० र ११ वडा अन्तर्गत पर्ने सडकको डिपिआर निर्माणमा बजेट विनियोजन गरिएको छ।

छोरी बचत खातालाई निरन्तरता दिइएको छ भने संघ, प्रदेश र विभिन्न संघसंस्थाबाट प्राप्त हुने योजनामा साझेदारी रकमका लागि ८५ लाख ८५ हजार रकम विनियोजन गरिएको छ।

त्यसैगरी पन्ध्र शैयाको राजारानी नगर अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन तथा मुअब्जा ब्यवस्थाका लागि ४० लाख रकम विनियोजन गरिएको छ।

कोभिड १९ महामारी र विपत व्यवस्थापनका लागि ३० लाख रकम विनियोजन गरिएको छ। नगरका ११ वटै वडाका लागि २ करोड ९४ लाख ५४ हजार रकम विनियोजन गरिएको छ।

लक्षित बर्गतर्फ महिला अनुदान २० लाख, दलित अनुदान ८ लाख, आदिबासी जनजाति अनुदान ८ लाख, अपाङ्ग अनुदान ३ लाख रकम विनियोजन गरिएको छ।

कोभिड ब्यवस्थापन अर्को शिर्षकमा २५ लाख रकम विनियोजन गरिएको छ। नगर भवनको तल्लो तला ब्यवस्थापनकालागि २५ लाख विविध ब्यवस्थापन तर्फ २४ लाख रकम विनियोजन गरिएको छ।

नगरका  सिमा क्षेत्रमा प्रवेशद्धार निर्माण तथा हेमराज प्रवेशद्धार निर्माणकालागि बजेट विनियोजन गरिएको छ। सुत्केरी बिरामी उद्धार तथा एम्बुलेन्स खरिदका लागि १६ लाख रकम विनियोजन गरिएको छ।

स्वर्गीय नगर प्रमुख बुढाको सम्झनामा बीस लाख रकम बराबरको शालिक निर्माण गरिने समेत निति तथा कार्यक्रममा समेटिएको छ।

नगरपालिकामा आधाभुत तथा माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरु लागि बार्षिक दुई हजारका दरले सञ्चार खर्च उपलब्ध गराइने कार्यक्रममा समेटिएको छ।

नगर सभामा निर्वाचित कार्यकाल पुरा नहुँदै स्वर्गीय भएका नगर प्रमुख ओमबहादुर बुढाको निधनले नगरपालिका अभिभावक विहिन भएको महशुस गरिएको थियो।

जिल्लाकै एक कुशल एवं बौद्धिक राजनितिक नेतृत्व गुमाउँदा त्रिपुरासुन्दरी नगरपालिका मात्र नभई जिल्लालाई नै अपुरणिय क्षति पुगेको उप–प्रमुख बुढाले बताइन्।

पाँचौँ नगरसभा अध्यक्षता गरेका स्वर्गीय नगर प्रमुख बुढा छैटौँ नगरसभा अगावै निधन भएको भन्दै सम्झनामा उप–प्रमुख बुढा लगायत अधिकाशं जनप्रतिनिधि भावुक बनेका थिए।

नगर उप प्रमुख चन्द्रकुमारी बुढा तथा प्रमुख अथितिको रुपमा उपस्थित जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले संयुक्त रुपमा नगरसभाको उद्घाटन गरका थिए।

अथितीको रुपमा बोलाईएका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पारदर्शी एवं जनमुखि बजेट कार्यन्वयनमा जोड दिन सुझाव दिएका थिए।

नगर पार्सदको रुपमा सभामा उपस्थित वडा अध्यक्ष तथा सदस्यले कोभिड व्यवस्थापनमा भएको करोडौँ अनियमितता, हिँउदे अधिवेशन नभएको लगायतका बिषयमा सभा मार्फत जवाफ मागेका थिए।

प्रकाशित मिति: : 2021-06-24 21:35:00

प्रतिकृया दिनुहोस्