राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा २ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
विभागले अशोक कुमार सिन्हा र निवेदिका सिन्हाबाट १८ करोड ६५ लाख २ हजार ७ सय ६ रुपैयाँ बिगो जरिवाना र कैद माग दाबी गर्दै असार ३ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जमा मुद्दा दर्ता गरेको हाे।
विभागले आज एक विज्ञप्ति जारी गरी उनीहरु विरुद्ध मुद्धा दर्ता गरेको जानकारी दिएको हो। अशोक र निवेदिका बाबुछोरी हुन्।
विरगञ्ज महानगरपालिका ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं.३०३ मा उनीहरुले अवैध रुपमा लुकाएर राखेको २२९५७.४८ ग्राम सुन र १०७८.०० ग्राम चाँदीका गरगहना विभागले नियन्त्रणमा लिएको थियो।
सिंहपुर, रक्सौल, पूर्वी चम्पारण, भारत स्थायी घर भएका उनीहरु विरगञ्जमा फ्ल्याट खरिद गरि बस्दै आएका थिए।