मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात

Symbolic photo
Symbolic photo

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ। 

राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए। 

गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिडबाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो। 

बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि  आफूमाथि हातपात गरेको डा कार्कीले बताए।

चार युवाले आफूहरुमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ। अभियुक्त तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले मालुका गोपाल तिमिस्सिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको र कानूननुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए। रासस 

प्रकाशित मिति: : 2021-06-27 18:37:00

प्रतिकृया दिनुहोस्