मस्तिष्कमा पोस्ट कोभिड प्रभाव : स्मरणशक्ति घट्ने जोखिम

सोनी शाही

कोरोना संक्रमण निको भएका बिरामीमा दीर्घकालीन मानसिक रोग देखिन थालेको विज्ञहरूले बताएका छन्।

कोरोना संक्रमण नभएका मानिसमा समेत यस्तो समस्या देखिन थालेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका उपप्राध्यापक सन्देश ढकाल बताउँछन्। ‘कोभिडका कारण मस्तिष्क स्वास्थ्यमा समस्या निम्तिएर मेमोरी डिस्फंक्सन अर्थात् सम्झने क्षमता कम हुनसक्छ,’ उनले भने ‘संक्रमणबाट निको भएका मानिसमा यस्तो समस्या अझ बढी देखिएको छ।’

कोभिडकै कारण मानसिक रोगी बढेका हुन् कि होइनन् भन्ने विषयमा विभिन्न अध्ययन भइरहेको उनले बताए। ‘कोभिडकै कारण मानसिक रोगी बढेको रिपोर्ट आएको छैन। तर, कोभिडसँग जोडिएका लकडाउन, आर्थिक संकटलगायत विषयले मानिसको मस्तिष्कमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले भने।

संक्रमित नभएका मानिसमा कोरोना लाग्यो भने के गर्ने भन्ने डर रहेको र संक्रमित भएकाहरूमा मनोबल कम हुने देखिएको उनले बताए। मानिसले बढी प्राथमिकता दिँदै धेरै समय यही कुरा सोचिरहँदा मस्तिष्कमा धेरै असर पार्ने ढकालले बताए।

‘कोरोना लागे पनि त्यसलाई पार लगाउनुपर्छ भनेर मनोबल उच्च नराख्ने भएकाले संक्रमित हुँदा धेरै तनावबाट गुज्रेको हुन्छ, जुन अरू कसैसामु व्यक्त गर्न सकेको हुँदैन,’ उनले भने ‘यसले मानिसलाई अति डराउने, आत्तिने वा शुद्धिबुद्धि नै हराउनेसम्म हुनसक्छ।’

 

प्रकाशित मिति: : 2021-06-29 11:21:00

प्रतिकृया दिनुहोस्