टिपर टहरोमा खस्दा च्यापिएर दुईको मृत्यु

Symbolic photo
Symbolic photo

काठमाडौैँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो। उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

विभिन्न जिल्लामा आठ मृत फेला

प्रहरी प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा आठ जना मृत फेला परेका छन् । केहीको सनाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन। 

झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डुबेरको अबस्थामा फेला परेका छन् । घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला थियो। 

यस्तै पर्सा, छिपहरमाई गाउँपालिका–३ सानो जयमङ्गलाका ५० वर्षीय किशोरी साह कानु आफ्नै घरको भूईँमा मृत फेला परेको प्रहरीले जनाएको छ। ईलाम, चुलाचुली गाउँपालिका–२ बस्ने ३१ वर्षीय दिनेश आचार्य घर नजिकै पानी जमेको खेतमा मृत फेला परेका छन्। 

अर्घाखाँची, मालारानी गाउँपालिका–४ खलारा बस्ने ८८ वर्षीय चन्द्रबहादुर खत्री सोही ठाउँस्थित सामुदायिक वनमा मृत भेटिएका छन्। पाँचथर, मिक्लाजुङ गाउँपालिका–५बस्ने ५० वर्षीय मिलन राई आफ्नै घरमा र तेह्रथुम, म्याङ्लुङ नगरपालिका–८ कोबेकस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका एक पुरुष मृत भेटिएका हुन्। 

यस्तै चितवन, रत्ननगर नगरपालिका–७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष र भरतपुर महानगरपालिका–२ पुल्चोकस्थित सडक छेउमा पहिचान नखुलेकी एक महिला मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। 

उता महोत्तरी, जलेश्वर नगरपालिका–९ प्रकौली नजिक नालामा अर्का एक पूरुष पनि मृत भेटिएका छन्। सबै घटनाका विषयमा सम्बन्धीत क्षेत्रका प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-07-03 19:05:00

प्रतिकृया दिनुहोस्