पाइप मर्मत गर्दा काठमाडौँका सडकमा खाल्डैखाल्डा

File photo
File photo

सञ्चिता घिमिरे 
केही दिन पहिले कौशलटारका शिव न्यौपाने मध्यबानेश्वर नजिकै मोटरसाइकल दुर्घटनामा परे। ठूलो वर्षाको समयमा उनी सडकमा खनिएको खाल्डो नदेख्दा दुर्घटनामा पारेका हुन्। सानो दुर्घटना भएकाले उहाँले आफैँ उठेर किन सडक खनिएको हो भनी स्थानीयवासीसँग बुझे। 

मेलम्चीको पानी आएपछि चुहावट भएकाले त्यसको मर्मतका लागि खनिएको नजिकै पसल भएका व्यक्तिले बताएका थिए। आफू कम गतिमा भएकाले दुर्घटना सानो भएको उनले बताए। उनले भने, 'बढी गतिमा भए ठूलै दुर्घटना हुनसक्थ्यो।' 

केही महीनायता काठमाडौँ उपत्यकामा मेलम्चीको पाइप मर्मतका लागि खनिएका खाल्डाका कारण दैनिक यात्रु र चालकले कठिनाइ भोगिरहेका छन्। 

कतिपय स्थानमा तत्काल खाल्डो पुरिए पनि कतिपय स्थानमा केही दिनसम्म नपुरिएको पाइन्छ। खाडल पुरिएको स्थानमा पनि त्यहाँ भएका ढुङ्गा र गिटीका कारण हिँड्न गाह्रो भएका चालक र यात्रु बताउँछन्। 

मेलम्ची खानेपानी आयोजनाको पानी आएसँगै काठमाडौँ उपत्यकाका खानेपानी पाइपमा देखिएको चुहावट मर्मत गर्न थालिएकामा अहिलेसम्म झण्डै तीन हजार स्थानमा खाल्डा बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। 

मुख्य र सहायक सडकमा निषेधाज्ञाको समयमा पाइप मर्मतका काम भएको थियो। अहिले वर्षा शुरु भएपछि पनि सडकमा पाइप मर्मत काम नराकिएको देख्न सकिन्छ। 

सडकमा वर्षाको समयमा मर्मत गर्न नसकिने भन्दै अहिले तत्काल खन्न रोक्न डिभिजन सडक कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई भनिसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। 

उनका अनुसार तर अझै पनि सडक खन्न कम भएको छैन। उनले भने, 'केयुकेएल आफैँले खनेको हो कि उहाँहरुको नाममा अरुले सडक खनेको छ भन्ने बुझ्न सकिएको छैन।' 

सडक खन्ने काममा लिमिटेडले पनि डिभिजनसँग आवश्यक समन्वय नगरेको प्रमुख नेपालीले बताए। उनका अनुसार कतिपय स्थानमा हेर्दा आवश्यकताभन्दा बढी र चाहिनेभन्दा ठूलो खाल्डा खनिएको पाइएको छ।

 डिभिजनले वर्षा भइरहेकाले तत्काल कालोपत्र सडकमा मर्मत गर्न नसक्ने हुँदा हाललाई नखन्न अनुरोध गरिएको उनको भनाइ छ। उनका अनुसार सडक तुरुन्त मर्मत गर्न मौसमको चुनौती रहेको छ। 

वर्षाको समयमा कालोपत्र गर्न सकिँदैन। थप सडकमा खन्न रोक लगाएर अहिलेसम्म भएका खाडल सकेसम्म चाँडो पुरिसक्ने डिभिजनको तयारी छ। उनले भने, 'एक साता घाम लाग्दा अहिले खाल्डा देखिएको ठाउँमा काम गर्न सकिनेछ।' 

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएसँगै खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच पाइपमा चुहावट देखिएर खन्नु परेमा तत्काल मर्मत गर्न सहमति भएको थियो। 

यी दुई मन्त्रालयबीच भएको सहमतिमा लिमिटेडले सामान्य रुपमा खाडल पुर्ने र विज्ञ कर्मचारी भएकाले सडक विभागले कालोपत्र गर्ने उल्लेख थियो। मेलम्चीको पाइप मर्मतका लागि सरकारले रु १० करोड छुट्याएको थियो। 

लिमिटेडले खनेका तीन हजार ठाउँमध्ये कतिपय ठाउँमा ठूला र धरै ठाउँमा साना खाडल रहेको प्रमुख नेपालीले बताउनुभयो । सडकको मर्मतका लागि रकम निकासाको पर्खाइमा रहेको उहाँले जानकारी दिए। 

रकम पछि निकासा हुने गरी कतिपय स्थानमा अहिले मर्मतको काम अघि बढाइएको छ। उनले भने, 'सडक त्यसै छाड्दा थप क्षति पुग्ने भएकाले हामीले कालोपत्रबाहेक मर्मतको काम गरिरहेका छौँ।' 

मौसमका कारण र निकासा बाँकी भएकाले खाडल खनिएका स्थानमा तत्काल कालोपत्र गर्न नसकिएको डिभिजनले जनाएको छ। सडकमा मर्मत चाँडो गर्न नसकिएमा जमीनभित्र पानी पस्दा सडक अझै बढी लम्बाइमा क्षति गर्छ। 

सडक खनेपछि थप क्षति नहोस् भन्नका लागि सकेसम्म चाँडो मर्मत गर्नुपर्छ। पहिले कालोपत्र भइसकेको सडक त्यसै छाड्दा कालोपत्रभित्रको आधारमा समेत असर पुग्ने नेपालीले बताए। 

सडकमा तत्काल मर्मत नगर्दा त्यहाँ रहेको भ्वाङ ठूलो बन्न सक्छ। उनले भने, 'कालोपत्र सडकको शत्रु नै पानी भएकाले सकेसम्म त्यसबाट बचाउनुपर्छ।' 

सडक खन्दा त्यहाँबाट निस्कने ढुङ्गा र गिटीका कारणले दुर्घटनाको जोखिम बढी हुने र हेर्दा पनि सडक नराम्रो देखिन्छ। ग्राभेल सडकमा जस्तोसुकै मौसममा पनि सडकमा रहेको खाल्डा पुरेर पहिलेजस्तो बनाउन सकिन्छ। 

कालोपत्र सडकमा पहिले जस्तै गरी मर्मत गर्न घाम लागेको मौसम चाहिने प्रमुख नेपालीले बताए। डिभिजनले खनिएका ठाउँमा तत्काल दुर्घटना हुन नदिन गिटी राखेर खाल्डा भर्ने गरेको छ। कालोपत्रले छोपेको नहुँदा गिटी खुकुलो भएर उछिटिने र छरिने हुँदा त्यो टिकाउ हुँदैन। रासस 

प्रकाशित मिति: : 2021-07-04 17:44:00

प्रतिकृया दिनुहोस्