गोकर्णेश्वरमा अत्याधुनिक फोहर व्यवस्थापन यन्त्र

File photo
File photo

गोकर्णेश्वर नगरपालिकाले फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान गरेको छ। 

नगरपालिका र काठमाडौँ महानगरपालिका–८ को सीमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको वाग्मती किनारमा सो यन्त्र जडान गरिएको नगरप्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिए। नगरपालिकाले तीन वर्षअघि नै ल्याएको यन्त्र प्राविधिक कारणले जडानमा ढिलाइ भएको हो।

रु पाँच करोडको लागतमा फोहर व्यवस्थापन गर्ने दुईवटा यन्त्र ल्याइएकामा एउटा जडान गरिएको छ। अर्को यन्त्र जडान गर्न बाँकी छ। साउनदेखि नै यन्त्र सञ्चालन शुरु गरी फोहर व्यवस्थापन गरिने उनले बताए।

यन्त्र जडान गरेपछि अत्याधुनिक यन्त्रबाट फोहर व्यवस्थापन गर्ने गोकर्णेश्वर नेपालकै पहिलो नगरपालिका हुने जनाइएको छ। यन्त्रले फोहर दहन गर्नेछ। वातावरणमैत्री यन्त्र भएकाले स्वच्छ, सफा नगरपालिका बनाउन सहयोग मिल्ने विश्वास गरिएको छ।

यन्त्र जडानसँगै सामाजिक चेतना र फोहर वर्गीकरणका लागि कार्यक्रम ल्याउनुपर्ने माग गर्नुहुन्छ वाग्मती सफाइ अभियानकर्मी एवं वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी। यन्त्रलाई बढी प्रभावकारी र उपयोगी बनाउने गरी काम गर्नुपर्नेमा स्थानीयवासीको जोड छ।

घरान नै फोहर वर्गीकरण गर्दा झण्डै ८० प्रतिशत कमी आउने जनाइएको छ। कुहिने फोहरलाई घर बाहिर फाल्न बर्जित गर्ने कानूनको तर्जुमा गर्नसक्दा यन्त्र प्रयोगले सार्थकता पाउने उनको भनाइ छ।  यसैगरी बिक्री हुने र बिक्री नहुने फोहरको वर्गीकरणलाई अनिवार्य शर्तका रूपमा नगरवासीले स्वीकार गर्ने वातावरण बनाइनुपर्छ। 

कुहिने फोहरबाट मल बनाउने, नकुहिनेमा पनि बिक्री हुने फोहरलाई अलग राख्ने र प्लाष्टिक प्रयोगलाई बर्जित गरेर यन्त्रले धेरै भार खप्नु नपर्ने अभियानकर्मीको सुझाव छ। सुक्खा फोहरका लागि उपयुक्त यन्त्रमा अन्य फोहरले असर पुर्याउन सक्नेतर्फ पनि अभियानकर्मीले सचेत गराएका छन्। रासस 

प्रकाशित मिति: : 2021-07-08 12:57:00

प्रतिकृया दिनुहोस्