हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्याएको छ। गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्याएको हो।
निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पु¥याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए।
उनले भने, 'गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पुर्याएको छ। बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ। खेत सबै भत्किएका छन्। निर्वाहमुखी र स्थानीय व्यावसायिक रूपमा खेती लगाएका किसानको बाली निरन्तरको वर्षाले नष्ट गरिदिएको हो।'
गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका–१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पुर्याएको उनले जाकारी दिए।
उनी भन्छन्, 'नार्पाको वडा नम्बर १ नारमा यो वर्षाले किसानले लगाएका कोरु, आलु र तोरी बर्वाद बनाएको छ। चक्लाबन्दी गरेर लगाएका सो बाली पानीको मात्रा अत्याधिक भएर कतै कुहिएको छ, त कतै खेत भत्किएर पुरिएको छ।'
उनले भने, 'हिमाली भेग नार्पाभूमीको मुख्य बाली भनेको कोरु हो। यहाँ कोरु राम्रोसँग उत्पादन हुन्छ। यो बाली जौँ जस्तै हो। यहाँका नागरिक धेरै जसो कोरुमा नै निर्भर हुन्छ तर लगातारको वर्षाका कारण कोरु बालीमा नै ठूलो क्षति पुर्यायो। उक्त बालीमा क्षति पुग्दा यहाँका किसान निराश भएका छन्।' नार्पामा कोरु, आलु र तोरीलगायत तरकारी खेतीमा क्षति पुगेको छ।
गोरेटोको भर
नार्पाभूमि गाउँपालिका हिमाली जिल्ला मनाङको पनि मनाङ हो। यहाँ यातायातका लागि कुनै पनि सडक सञ्जालसँग जोडिएको छैन। नार्पाका नागरिकले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न गोरेटोबाटोको पैदल यात्रा गर्ने नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष कोन्जो तेन्जिङ लामाले बताए।
उनले भने, 'नार्पा विकट क्षेत्र हो। यहाँका नागरिकले आफ्ना दैनिक उपभोग्य बस्तु गोरेटोबाटो हुँदै घोडा र गधाको माध्यमबाट खाद्यान्न ढुवानी गर्दछ। सडक सञ्जाल जोडिएको छैन। यहाँ आउनका लागि पैदल यात्रा नै गर्नुपर्छ। नार्पाभूमि मनाङको पनि मनाङ हो। समुन्द्री सतहदेखि चार हजार दुई सय उचाइमा रहेको नार्पाभूमि हो। सदरमुकाम चामेबाट तिन दिनको पैदल यात्रा गर्नु पर्छ।'
गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराका कारण नार्पाभूमि अलग्गिएको छ। बाढीपहिराका कारण नार्पाका काठे पुल, झोलुङ्गे पुल बाटोघाटो र घरमा पनि क्षति पुगेको छ। पाँच वटा पुल नार्पाका सबै स्थानका गोरेटो बाटो बाढीपहिराले बगाउनुका साथै भत्किएको छ। यस्तै नार्पाभूमि गाउँपालिका १ नार गाउँमा माटोको चार घर पूर्णरुपमा क्षति पुगेको छ भने वडा नम्बर ४ र ५ फु गाउँमा दश वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए।
वर्षासँगै आएको जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पु¥याएपछि मनाङवासी पीडामा रहेका छन्। मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ। जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ। नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिराबाट क्षतिग्रस्त भएको छ। नार्पाभूमि गापा पहिराबाट प्रभावित भएको छ। रासस