कर्णालीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

अनलाइनखबर

काठमाडौँ

प्रेम लामा/यज्ञ खत्री

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो ।

त्यसयता संख्यात्मक हिसाबले केही तलमाथि हुँदै संक्रमण विस्तारै ओरोलो लाग्यो । असार ६ गते ३७ जना (१०.०३ प्रतिशत संक्रमणदर) मात्रै नयाँ संक्रमित थपिए । यो संख्या दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो झर्ने संक्रमितको सबैभन्दा कम थियो ।

तर पछिल्लो समय प्रदेशमा संक्रमणको दर फेरि उकालो लागेको छ । निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही हुन थालेको र संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्का बताउँछन् ।

‘निषेधाज्ञा खुलेपछि विस्तारै संक्रमण दर पनि बढ्दै जान्छ,’ प्रदेश अस्पतालका डा. नवराज केसी भन्छन्,’ ‘कर्णालीमा पनि निषेधाज्ञा खुलेपछि संक्रमितको दर उकालो लागेको छ, यो १४ दिन पछि झनै बढ्दै जान्छ ।’

प्रकाशित मिति: : 2021-07-08 22:31:00

प्रतिकृया दिनुहोस्