यत्रतत्र नक्कली सरकारी कागजात : मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत दाउमा

अनलाइनखबर

काठमाडाैं

नेपालमा नक्कली सरकारी कागजात सजिलै बन्छ, बरु सक्कली काम गर्न गाह्रो छ । देशभित्र चलेको यो ‘अपराध कारखाना’ ले मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर प्रश्न उठ्ने अवस्था निर्माण गरेको छ ।

भैंसेपाटीका रवीन्द्र महर्जनसँग रौतहटको चन्द्रपुर नगरपालिका–९ मा ‘अस्पताल भवन बनाएको’ प्रमाणित गर्ने सरकारी कागजात छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याडमा योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङले हस्ताक्षर गरेका छन् । त्यो सरकारी कागजात अनुसार २४ भदौ २०७१ मा ४३ करोड ३७ लाख ५५ हजार रुपैयाँ लगानीमा शुरू भएको अस्पताल भवन ८ असोज २०७३ मा निर्माण सम्पन्न भएको छ ।

तर, चन्द्रपुर–९ का वडाध्यक्ष गोविन्दप्रसाद दुलालका अनुसार, उनको वडामा पछिल्लो आठ वर्षमा कुनै अस्पताल भवन बनेकै छैन ।

‘हाम्रो वडामा दुईवटा स्वास्थ्य केन्द्र मात्रै छन्, एउटा २०३६ सालदेखि स्वास्थ्य केन्द्र डुमरिया सञ्चालित छ’ दुलालले भने, ‘अर्को चाहिं सिम्रघारीमा नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र चलाइरहेको सानो भवन छ ।’

‘४३ करोडको भव्य भवन वडामा निर्माण भएको भए मलाई कसो थाहा हुन्नथ्यो होला र ?’ वडाध्यक्ष दुलालले भने, ‘कसैले कागजमा बनायो होला ।’

यस्तो कागजी विकास देखाउने नक्कली सरकारी पत्र भेटेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोप्य रूपमा अनुसन्धान गरेको थियो । फर्जी काम गरेको देखिएपछि भ्याली कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक महर्जनलाई ४ चैत २०७७ मा प्रहरीले पक्राउ गर्‍यो । प्रहरीका अनुसार, यो मामिलामा जोडिएका अर्का सञ्चालक भाइराजा श्रेष्ठ, रमिता महर्जन (अवाले), ज्ञानेश महर्जन र गीताकुमारी निरौला अझै पनि फरार छन् ।

प्रकाशित मिति: : 2021-07-09 11:26:00

प्रतिकृया दिनुहोस्