पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो।
सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए। अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो।
राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रका लागि छुटेका गाडी बीचबाटामै रोकिएका थिए। रोकिएका गाडी र यात्रु राजमार्ग पुनःसञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ। पहिराका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ। रासस