कोरोना भाइरसबाट चार सातामा साउदी अरबमा थप १२ नेपालीको मृत्यु

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, साउदी अरेबियामा १२ जना  नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो।

संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भइसकेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन्।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझ (१० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन्।

संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर,  भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।

यसैबीच नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४  दशमलव ६ प्रतिशत अर्थात ६  लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण शनिवार  साँझसम्म ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-07-12 13:13:00

प्रतिकृया दिनुहोस्