चर्को हवाई भाडा, महँगो क्वारेन्टिन र विभेदकारी खोप नीति

अनलाइनखबर

काठमाडाैं

रवीन्द्र घिमिरे

 कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन । व्यापार व्यवसाय, शिक्षालय, यातायात, पर्यटन, उद्योग, कलकारखाना प्रभावित बनेका छन् । सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये हो, वैदेशिक रोजगारी ।

महामारीमा यातायात, प्रवेश अनुमति र श्रमिकको न्यून मागले प्रभावित बनेको वैदेशिक रोजगारी एअरलाइन्सहरूको मनलाग्दी हवाई भाडादर, गन्तव्य देशको क्वारेन्टिन तथा खोपसम्बन्धी नीतिले थप अप्ठेरोमा फसेको छ । असामान्य भाडा दर लिंदा पनि एअरलाइन्सहरूप्रति नतमस्तक देखिएको सरकारको कमजोर ‘श्रम कूटनीति’का कारण कामदारहरू सबैभन्दा बढी मारमा परिरहेका छन् ।

महामारीमा विदेश जाने श्रमिकसँग विभिन्न कारण देखाउँदै एअरलाइन्सले असामान्य भाडा असुलिरहेका छन् । श्रम गन्तव्य मुलुकले श्रमिकका लागि निःशुल्क क्वारेन्टिनको व्यवस्था गरेका छैनन् । कतिपय देशले आफूले मान्यता दिएको खोपको मात्रा पूरा गरेका श्रमिकलाई मात्रै काममा लिने खालका नीति बनाएका कारण नेपालबाट विदेश जाने श्रमिकहरू मारमा परेका छन् ।

देशभित्र प्राथमिकता प्राप्त उमेर समूहले भारत र चीनमा बनेका खोप समेत नपाइरहेको अवस्थामा अमेरिका र युरोपमा बनेको खोप अनिवार्य गर्दै त्यस्तो खोप नलगाउने श्रमिकलाई आफ्नै खर्चमा क्वारेन्टिनमा राख्ने गैरन्यायिक नीतिले नेपाली श्रमिकहरू थप समस्यामा परेका हुन् । महँगो हवाई भाडा र क्वारेन्टिन खर्च कटौतीका लागि पहल नगरिरहेको सरकार श्रमिकको गन्तव्य मुलुकहरूले लिएको खोप सम्बन्धी विभेदकारी नीतिबारे पनि मौन छ ।

प्रकाशित मिति: : 2021-07-13 17:33:00

प्रतिकृया दिनुहोस्